मङ्सिर १५ , काठमाडौँ – संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् । हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको छ । विश्व हिन्दू महासंघको नेतृत्व पुनर्गठन भएको छ भने केशरबहादुर विष्ट, बालकृष्ण न्यौपानेलगायतले नेतृत्व गरेको समूह पनि हिन्दूराष्ट्रका लागि सक्रिय भएको छ ।
कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको ‘सनातन हिन्दूराष्ट्रका लागि महाअभियान’ले बुधबार काठमाडौंमा पार्टी निकटस्थ र शुभेच्छुकहरूको भेला बोलाएको छ । गत वर्ष संविधान जारी हुनुअघि नै सेलाएको खड्का नेतृत्वको महाअभियानले संविधान संशोधनको तयारी भइरहेका वेला दबाब दिन सक्रियता बढाएको हो । महाअभियानका नेता देवप्रकाश त्रिपाठीका अनुसार बुधबार बोलाइएको भेलाले हिन्दूराष्ट्र, गणतन्त्र, संघीयतालगायतबारे धारणा तय गर्ने छ ।
भेलामा कांग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा रहेको हिन्दूराष्ट्रका लागि नागरिक संघर्ष समितिमा आबद्धहरू पनि सहभागी हुनेछन् । ‘यसपटक हामीले संघीयता र गणतन्त्रका विषयमा पनि ठोस धारणा ल्याउँदै छौँ,’ त्रिपाठीले भने । महाअभियानले लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दूराष्ट्रका पक्षमा आफूलाई उभ्याएको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइराला पनि हिन्दूराष्ट्रका पक्षपाती हुन् ।आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।
नेता खड्काको हिन्दूराष्ट्र अभियानमा अन्य केन्द्रीय सदस्यले पनि मुद्दामा समर्थन गर्ने खड्कानिकट नेताहरूको दाबी छ । उनले बोलाएको भेलामा वनमन्त्री शंकर भण्डारी, कांग्रेस नेताहरू तारानाथ रानाभाट, लक्ष्मण घिमिरेलगायत पनि सहभागी हुँदै छन् ।