कार्तिक २७, काठमाडौं – मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा नेपालले आज लोओससँग प्रतिस्पर्धा गर्दैछ ।
समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओससँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।
नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे हुनेछ ।
तीन टोली सम्मिलित समूह एमा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलको थियो । नेपालले शनिबार भएको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने मंगलबार भएको दोस्रो खेलमा बु्रनाईलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।
त्यसैगरी समूह चरणको खेलमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने मकाउसँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।
समूहचरणको अन्तिम खेलमा भने लाओसले मंगोलियालाई ३–० गोलअन्तरले पराजित गर्दै उपविजेता बन्दै सेमिफाइनलमा आफनो यात्रा तय गरेको थियो ।
शनिबार नै हुने अर्को सेमिफाइनल खेलमा मकाउ र ब्रुनाई भिड्नेछन् । प्रतियोगितामा समूह बीको विजेताको रुपमा मकाउ सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह एको उपविजेता ब्रुनाई हो ।
मकाउले मंगोलिया र लाओसलाई पराजित गरेको थियो भने श्रीलंकासँग बराबरी खेलेको थियो । उक्त खेल मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा हुनेछ ।
सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।