कार्तिक २५ , काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरंकुश तरिकाले चल्न थालेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको आडभरोसामा उभिए पनि प्रधानमन्त्री दाहाल एकलौटी रूपमा अधि बढेको उनको आरोप छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ।
बुधबार काभ्रेको बनेपामा नेपाली कांग्रेस प्रथम राष्ट्रिय नगर सभापतिको सम्मेलनको उद्घाटनका क्रममा नेता पौडेलले यस्तो बताएका हुन् । ‘प्रचन्डजी आफ्नै ढंगबाट अघि बढ्दै जानुभयो, कुनै काम हुन सकेन’, उनले भने, ‘सरकारले जनताले आशा गरेबमोजिम काम गर्न सकेको छैन । यसबाट कांग्रेसलाई कुनै उपलब्धि छैन ।’
केही समयमै विभिन्न तहको निर्वाचन हुन लागेकाले त्यसको तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई आग्रहसमेत गरे । ‘केही समयमै हामीले अग्निपरीक्षाको सामना गर्नुपर्छ । यसका लागि तपाईंहरू तयार हुनुहोस् । हामी पहिलो हुनुपर्छ’, उनले भने, ‘एमाले र माओवादीको गठबन्धन तोडेर कांग्रेसलाई सरकारमा पुर्याएका छौं । अब चुनावका लागि सोहीअनुरूपको तयारीमा लाग्नुपर्छ ।’
कार्यक्रममा शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले माओवादीको सशस्त्र दसवर्षे युद्धबाट देश पछि पर्नुका साथै तत्कालीन समयमा ध्वस्त भएका संरचनको ३५ प्रतिशत पनि काम हुन नसकेको बताइन् । ‘भौतिक संरचनाको त कुरा परै जाओस्, मृतक बेपत्ता र टुहुरा बालबालिकाका परिवारले अझै राम्ररी राहत पाउन सकेका छैनन् । यसका लागि म लागिरहेकी छु ।’ पुनर्निर्माणका लागि मात्र ३० अर्ब रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ । ‘हामीले बेपत्ता तथा मृतकका परिवारका लागि ३२ करोड रुपैयाँ छुट्ट्याएका छौं ।’
बुधबार र बिहीबार हुने सम्मेलनमा नगर सभापतिसहित करिब २ सय १७ प्रतिनिधिको सहभागिता रहेको नेपाली कांग्रेस बनेपा नगर समिति सभापति राम जोशीले जानकारी दिए । सम्मेलनमा स्थानीय निकाय पुनर्संरचनाबारे धारणा बनाउन र चैतमा हुने भनिएको स्थानीय निकाय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरणलगायत एजेन्डामा छलफल गर्न भेला बोलाएको उनले बताए ।