चीनबाट पुनर्निर्माण र पूर्वाधारमा सम्झौता गर्ने प्रस्ताव आएको थियो- प्रधानमन्त्री

कार्तिक १४ , काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले गोवामा भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले पुनर्निर्माण र पूर्वाधारको क्षेत्रमा सम्झौता गर्न चाहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले गोवाभन्दा काठमाडौं या बेइजिङमा गर्न चाहेका कारण सम्झौता नभएको बताए। ‘चिनियाँ राष्ट्रपतिसँग पुनर्निर्माण, रेल्वे तथा बाटो बनाउनका लागि प्रोटोकल बनाउने सहमति भएको छ,’ उनले भने।
चिनियाँ राष्ट्रपति आउने निश्चितजस्तै भएको भन्दै उनले सरकाले त्यही अनुसारको तयारी गरिरहेको बताए। ‘गोवामा भएको भेटमा पनि मैले नेपाल भ्रमण गर्न आग्रह गरेको थिए,’ उनले भने, ‘चिनियाँ राष्ट्रपतिले यो डिसेम्बरसम्म मिलेन भने पनि अर्को साल नेपाल आउँछु भन्नुभएको छ।’

मधेसी मोर्चासँगको छलफल सकरात्मक
प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँगको छलफल सकरात्मक भएको दाबी गरेका छन्। ‘मोर्चासँगको छलफल सहमतिको नजिक पुगेको छ,’ उनले भने, ‘आइताबार मोर्चा र सरकारबीच औपचारिक वार्ता हुन्छ।’
चार वटा विषयमा संविधान संशोधन गर्ने गरी छलफल चलिरहेको र यो अन्तिम चरणमा पुगेको उनले बताए। सीमांकन, भाषा, राष्ट्रिय सभा र नागरिकतालगायत विषयमा सहमतिका लागि छलफल भइरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए।
सात प्रदेश रहनेगरी सीमांकनमा हेरफेर गर्ने, राष्ट्रिय सभामा प्रतिनिधित्वमा हेरफेर गरेर प्रत्येक प्रदेशबाट चार जना या तीन जना रहने र बाँकी जनसंख्याको आधारमा हुनेगरी सहमति गर्न लागिएको प्रधानमन्त्री दाहालले बताए।
नागरिकताको सवालमा अन्तरिम संविधानमा रहेको व्यवस्थालाई राख्नेगरी सहमतिको नजिक पुगेको प्रधानमन्त्रीको भनाइ छ।
संविधान संशोधनपछि निर्वाचनको प्रक्रिायलाई पनि अघि बढाउन सकिने भन्दै दाहालले भने, ‘सबै सहभागी भएको स्थानीय तहको निर्वाचन गर्न हामीले चाहेको हो, त्यसैले, संविधा संशोधन पहिलो प्राथमिकता हो।’
चैतमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको स्पष्ट धारणा रहेको उनले बताए।

भारत भ्रमणका बेला अख्तियारको पत्रकार सम्मेलन अस्वभाविक
प्रधानमन्त्री दाहालले आफू भारत भ्रमणमा गएका बेलामा आफूलाई केन्द्रित गरेर पत्रकार सम्मेलन गर्नुलाई अस्वभाविक घटना भएको बताएका छन्। ‘राष्ट्रको तर्फबाट राजकीय भ्रमणमा गएको बेला जुन पत्रकार सम्मेलन गरियो त्यो अस्वभाविक हो,’ उनले भने।
अख्तियारको पत्रकार सम्मेलन र अख्तियार प्रमुखकको महाअभियोग प्रस्तावका बीचमा भने कुनै सम्बन्ध नरहेको उनले स्पष्ट पारे।
महाअभियोग विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेससँग कुनै बिमति नरहेको उनले दाबी गरे। ‘महाअभियोग प्रस्तावपछि कुनै असमझदारी बढेको छैन,’ उनले भने, ‘अनुमान गर्ने कुरा तर अविश्वास बढेको छैन। एकअर्काका अप्ठेरोलाई सहयोग गरेर अघि बढ्ने सहमति भएको छ।’
महअभियोग प्रस्तावमा राष्ट्रिय सहमति बनाएर अघि बढ्न आफूले प्रयास गरेको उनले बताए। ‘महाअभियोग प्रस्ताव दर्ता हुनुभन्दा पहिला पनि तीन दलका बीचमा छलफल भएको थियो, सहमतिबिना यसलाई टुंगोमा पुर्‍याउन कठिन हुन्छ त्यसैले यसमा सहमति जरुरी छ,’ दाहालले भने।
अहिले सत्ता पक्ष र प्रतिपक्षका बीचमा पनि राम्रो संवादको सुरुवात भएको उनले बताए।

बिदाबारे नकारात्मक टिप्पणी भयो
प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपतिको नेपाल भ्रमणको दिनमा दिन लागिएको बिदाको नकारात्मक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन्। विगतमा पनि अन्य देशका राष्ट्रप्रमुख आउदा बिदा दिने र नदिने दुबै रहने गरेको र त्यसलाई आधार मानेर बिदा दिन लागिएको उनले बताए। ‘सबैसँग छलफल गरेर बिदा दिने निर्णय भएको हो,’ उनले भने, ‘प्रधानमन्त्री भएकोले यसको जस अपजस म लिन्छु तर अब यो निर्णय फिर्ता हँदैन।’
ट्राफिक समस्या पर्ने भएकोले पनि बिदा दिन जरुरी रहेको उनले बताए।