कात्तिक १२, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरुको सहमतिमै सरकारले छिमेकी राष्ट्र प्रमुखहरु नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको दावी गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारितका लागि दबाब दिन गएको संयुक्त विद्यार्थी टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रमुख दलहरुको सिफारिसमा सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिने निर्णय गरेको स्पष्ट पारेका हुन्।
विगतका सरकारले पनि छिमेकी राष्ट्रका प्रमुखको नेपाल भ्रमणका बेला विदा निर्णय गर्ने गरेको भन्दै उनले सोही परम्परालाई निरन्तरता दिएको दावी गरे।
सार्वजनिक विदाको सन्र्दभमा सञ्चारमाध्यमले गलत रुपमा समाचार संप्रेषण गरेर जनतालाई भ्रमित पारेको प्रधानमन्त्रीले गुनासो गरे। प्रधानमन्त्री दाहालले विदेशी पाहुनाहरुको भ्रमणका क्रममा उपत्यकाको सार्वजनिक सवारी पनि प्रभावित हुने र त्यसबाट नागरिकले दुःख पाउने भएकाले विदा दिने विषय आएको बताए। मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले भारतीय राष्टपति प्रणव मुखर्जीको नेपाल भ्रमणको दिन कात्तिक १७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सरकारको निर्णयलगत्तै सामाजिक सञ्जालमा त्यसको विरोध भएको थियो।