कार्तिक ८, काठमाडौं – संसद्को सबभन्दा ठूलो दल कांग्रेसको नेतृत्व तह अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्तावकै पक्षमा निर्णय लिने निचोडमा पुगेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले महाअभियोग प्रस्तावमाथि मंगलबार संसद्मा सुरु हुने छलफलमा महाअभियोगकै प्रस्तावलाई बल पुग्ने गरी बोल्न आफूनिकट सांसदहरूलाई संकेत गरेका छन् । ‘सभापतिले बारम्बार कार्की बदमास हुन्, समानान्तर सत्ता चलाउन खोजेर राज्य आतंक खडा गरेका छन् भन्दै आउनुभएको छ,’ देउवानिकट एक सांसदले भने, ‘हामीलाई संसद्मा पनि त्यही लाइनअनुसार बोल्न निर्देशन दिनुभएको छ ।’