शेर बहादुर चौधरी
– शंकर पोखरेलले मधेसीलाई कालो देखे, पोखरेलको कुइरो आँखाले मधेसीलाई कालो देख्नु स्वाभाविकै हो किनकि उनी हिमाल खुटयाँउछन्, पहाड देख्छन् र मधेसलाई क्षितिज भन्ठान्छन्। ‘हिमाल, पहाड र तराई, कोही छैन पराई’ यो त लेख्नेले लेखिदियो तर बुझ्नेले नबुझेपछि कस्को के लाग्छ र? मधेसीले पहाडीलाई देख्न नसक्नु र पहाडीले मधेसीलाई देख्न नसक्नु यो अनौठो प्रतिस्पर्धामा छन् अहिलेका राजनीतिक दलहरु। हिमाल, पहाड र तराईको प्रकृतिक रंगमा पोखरेल, ओली, देउवा, महतो, यादव आदिले कृतिम रंगको सिर्जना गरी कस्ले राम्रो रंगको सिर्जना गर्ने प्रतिस्पर्धामा छन् तर सबैले बुझ्नु पर्ने चुरो चाहिँ एउटै हो, हिमाली, पहाडी, मधेसी बिग्रिन सक्छन् तर हिमाल, पहाड, तराई कहिल्यै बिग्रदैन। राजनीति स्वच्छ खेल होइन तर फोहोरीलाई पराजित गरेर हस्तिनापुर स्थापना गरेको महाभारत हामीसँगै गीतामा साक्षी छ। छल कस्ले गरेन? भगवान कृष्णले?, रामले? वा चाणक्यले? सबैमा छल छ तर प्राप्तिको तिरस्कार पात्र रावण, कंशमात्रै हुनुपर्छ अरु होइन, खोइ हामीले बुझेको? तर यहाँ महतो, ओली लड्छन् जनता हार्छन् तर पनि खेलमा दुबैले जित्छन्, कस्तो अनौठो खेल? एउटाको पक्षमा भारत, अर्कोको पक्षमा चीन भएको आरोप लगाइन्छ। खेल विजयमा दुबैले अबिर दल्छन्, हारको मोसो जनतालाई मात्रै किन पर्छ?
‘हामीले हिमाल उठायौं एशियाको माझमा
साम्यता बास बसेथ्यौं आएर यहीं साँझमा’
-लेखिएको ओजस्वी अंशमा हिमालको टेको मधेस होइन? मधेसको शिर हिमाल होइन? खोइत राजनीतिक सभ्यता? पोखरेल जस्तो राजनीतिककर्मीको नजर त अझै कालै रहेछ, दुबैले भुल्नु हुँदैन। यो देशको मात्रै होइन सबै देशको आ-आफ्नो इतिहास हुन्छ। कालोलाई दास बनाउने अमेरिकनहरु अहिले कालालाई राष्ट्रपति बनाउँछन्। कालो गोरोको राजनीतिक सभ्यताले उचाइ नलिएको भए के काला ओबामा आज राष्ट्रपति हुन सक्थे? हामी राजनीतिक सभ्यतालाई जति परिस्कृत बनाउन सक्यौं, उतिनै शुसासित देशको नागरिक हुनेछौं। संसारमा दुईचोटि प्रधानमन्त्री, राष्ट्रपति भएको उदाहरण त होला तर एक जना ६/६ पटक प्रधानमन्त्री भएको देश भने हाम्रो नेपाल नै हो।
आजभोलि अेखती साबुन र डोब सैम्पोले हामी पनि नुहाउछौं पोखरेलजी? बाबु आमाहरु कालै छन् तर हामी गोरा भाका छौं। कुन्नी किन हो, रासायनिक साबुन सैम्पुले गोरो भएका हामीलाई अझै किन शंकर पोखरेलहरु कालो देख्छन्?
नेपालको राजनीति मिलीभगतमा छ। यहाँ नेता जित्छन् जनता हार्छन्। देशले बनाएको सपुतको उदाहरण नेपालमा छैन, आमाको लाम्टो चुसेर आफ्नै बलीदानीले बनेका सपुतहरुको फेहरिस्तमात्रै नेपालमा छ। यहाँ जंगबहादुरहरु सम्मानित हुन्छन्, भिमसेन थापाहरु सेरिएर मर्छन्, भक्ति थापाहरु ७०औं बसन्तमा छातीमा तोप थाप्छन्। ‘म हुँ बाघको डमरु मलाई सिनो खाने कुकुर नसम्झ’ भनेर अंग्रजको चिठ्ठी च्यात्ने अमर सिंहहरु पत्तासाप हुन्छन्। नालापानी युद्ध लड्ने बलभद्र कुँवरहरु रन्जीत सिंहको लडाइँमा होमिन्छन्। नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको शालिकमा घन चल्छ, अनि देशमा विभाजन खोज्नेहरु हीरो हुन्छन्। कहिले महेन्द्रको शालिक ढाल्छन्, आखिर महेन्द्रको शालिक धाल्नेहरु नै अखण्डताको कुरा गर्छन्, अखण्डकै नाममा झगडा बझाउँछन्। विश्वकै उत्कृष्त संविधानमा प्रधानमन्त्री नै फेर्ने कानुन हुँदैन, कस्तो अचम्म? संविधान सभाको निर्वाचनका लागि बलि चढ्ने प्रचण्डहरु विवश छन्, कहिले कोइरालालाई प्रधानमन्त्री बनाउँछन् त कहिले ओलीलाई। दुबैले धोखा दिएपछि प्रधानमन्त्रीको कुर्सीमा आफैँ बस्न बाध्य छन्। नजरिया हिमाल, पहाड, तराईको हो। समस्या मधेस, हिमाल, पहाड जताततै छ। जे भने पनि गणतन्त्र, संविधान सभा, संघीयता तिमीले ल्याएको पाटो हो प्रचण्ड! कार्यान्वयन गरेर देखाउ तर देश नटुक्रयाउ। आजभोलि राजनीति कर्मचारी, पुलिस, आर्मी सबैले गर्छन्, सबैबाट जोगिएर सफल हुनका लागि फलामको चिउरा चपाउने कोसिस गर्नैपर्छ। फलाम, सिसा चपाएर चटक देखाउनेहरु थुप्रै छन् तर तिमीले कार्यान्वयन गरेर देखाउनुपर्छ। तबमात्र प्रचण्ड ‘प्रचण्ड’ हुन्छ नत्र चण्ड, मुण्डलाई जस्तै काली लगाएर तिमीलाई खेद्न बेर लाउने छैनन्।
सम्झौता मिलन बिन्दुको दस्तावेज हो। गरिएका जायज सम्झौता कार्यान्वयनमा ल्याउनुपर्छ। कर्णालीको खस पोसाक दौरा सुरुवाल, ढाका टोपी सबैले राष्ट्रिय पोसाक स्विकारेकै छन्। मधेसी थारुले बोल्न नजाने पनि नेपाली भाषा मानेकै छन्। गजे घलेका सन्तानहरु वीर गोर्खालीको इज्जत धानीनै राखेका छन्। सगरमाथाका कविता कोर्नेहरुका बीचमा आङ्काजीहरु हिमाल चढेकै छन्, तर खोइ? मगर, गुरुङ, राई, थारुहरुले न्याय पाएको? बुद्धको भूमी नेपाल भनेर चिनिने अनि बुद्धभूमी लुम्बिनीमा बसोबास गर्ने मधेसीहरु काला हुने? जनकपुरकी जानकी नेपाली तारा हुने अनि जनकपुरियाहरु भारतीय हुने? हामीले त कहिल्यै भनेनौं- तिमी पहाडीहरु नेपाली होइनौं। पहाडी जनताले पनि कहिल्यै भनेनन्- तिमी मधेसी नेपाली होइनौं। जनता जनता मिल्ने, नेता नेता सिंगौरी खेल्ने? कर्णालीको भोको पेटमा लात मार्ने, रोल्पा, रुकुमको हैजामा औषधि नपाई लाखौं जनत पीडित हुने? पहिचानको न्याय कहिल्यै नमाग्ने तर पहिचान पीडित हुने शेर्पा, बरु देश छोडेर बेलायत गइ बसोबास गर्ने तर गोर्खाली पहिचानका लागि लड्ने गुरुङ, मगर, राईहरु आफ्नो साँध लगाएको भूमीभन्दा अर्कोको हड्प्नै नजान्ने थारुहरुलाई आज पहिचान चाहिएको छ। हामीलाई न महतो, यादव न त ओली, देउवासँगको कुनै मतलब छ। हामीलाई त नेपाली भनीदेऊ, पहिचान देऊ, थरुहट मधेस निमट्यान्न नपारीदेऊ, यहीमात्र बिन्ती छ। आजभोलि अेखती साबुन र डोब सैम्पोले हामी पनि नुहाउछौं पोखरेलजी? बाबु आमाहरु कालै छन् तर हामी गोरा भाका छौं। कुन्नी किन हो, रासायनिक साबुन सैम्पुले गोरो भएका हामीलाई अझै किन शंकर पोखरेलहरु कालो देख्छन्? रावल मानसिकताले थारुलाई आतंककारी देख्छ, सिटौला मानसिकताले झापा मधेस होइन भन्छ। ओली भन्छन्- म नेपाली हाम्रो पार्टीका जनता मात्रै नेपाली? यो लेखक स्वतन्त्र नेपाली थारु हो। जाँदाजाँदै सोध्छ- तिमी नेपाली या हामी नेपाली
छिनी दिने को छ र त्यस्तो न्यायाधीश?
भनीदेऊ है को हो नेपाली?
भजनी, कैलाली
साभार – नागरिक