दश वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस सञ्चालन हुनेछन् ।
यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बागलुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ बाट पूर्णरुपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो ।
काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।