भदौ २९, काठमाडौं – असंलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुयला प्रस्थान गर्दै छन् ।
उपराष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति पुनबुधबार साँझ २१ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेनेजुयला प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय सङ्घ तथा सङ्गठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाका प्रमुख भरतराज पौड्याल, सोही शाखाका उपसचिव सुधीर भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि मिनिस्टर काउन्सिलर घनश्याम लम्साल, नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्री, उपराष्ट्रपतिका स्वकीय सचिव तुलसी डाँगी र उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी उमेशबहादुर सिंह सहभागी हुँदै छन् ।
यस्तै मन्त्रिस्तरीय बैठकका लागि संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईको नेतृत्वमा एक टोली रहनेछ । मन्त्रिस्तरीय बैठक यही भदौ ३० र ३१ गते आयोजना गरिएको छ ।
शिखर सम्मेलन भेनेजुयलाको मार्गरिता टापुमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुन आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यसअघि उक्त शिखर सम्मेलन इरानको राजधानी तेहरानमा आयोजना गरिएको थियो ।