काठमाडौँ – कविता संग्रह दुई थोपा आँशुको प्रकाशनपछि लेखिका मञ्जु विमलीको दोस्रो कृति खीर भर्खरै बजारमा आएको छ । संस्मरणात्मक निबन्ध संग्रह खीरमा लेखिकाले आफ्नो बाल्यकालको वर्णन ६ थान निबन्धमार्फत गरेकी छिन् । एउटी स्कुले विद्यार्थीले पसलमा प्याड किन्दै गरेको दृश्यले फ्ल्यास ब्याकमा पुगेकी लेखिकाले आफ्नो प्रथम रजस्वलाको अनुभूतिलाई खोल्मामा बितेको रातमा व्यक्त गरेकी छिन् ।
वास्तवमा नै उनको भोगाइसँग आज पनि अरू थुप्रै भोगाइहरूले तादात्म्य राखे झैं लाग्दछ । विवाहपछिको पहिलो दशैं मनाउन एक्लै माइत पुगेकी उनी फर्किंदा निकै लामो चक्काजाममा पर्दछिन् । त्यो रातमा शारीरिक पीडाबाट बेहोश हुन पुगेका दुई घटनाहरूको वर्णन गरिएको छ । वैवाहिक सम्बन्धको विच्छेदन पश्चात उनले पुनः जीवनमा कसैको साथको आवश्यकताको बोध गरेकी छिन् ।
जीवनलाई अब एउटा साथ दिनुपर्छ भन्दै उनले जीवनलाई रङ्गाउने प्रण गरेकी छिन् र उनको यो प्रणले मूर्तता पनि पाइसकेको छ । कहिल्यै नगएको मावल जान लागेकी लेखिकालाई यो थाहा छैन कि उनले लगाउन ठिक्क पारेका जुत्ता उनको खुट्टाभन्दा साना छन् भनेर । हिड्दै जाँदा जुत्ताले दिएको पीडा मावल पुगेपछिको रमाइलो जुत्ता र मावलमा प्रकट भएको छ । पिताको मृत्युसँगै बिदेसिएकी उनले दसौं वर्षपछि फर्किएर मनाएको दशैंमा आफ्ना बाबुलाई अत्यन्तै सम्झिएकी छिन् । बाबु हँुदाको र अहिलेको दशैंमा उनले थुप्रै भिन्नता महशुस गरेकी छिन् । विवाहपछिको दशैंको पनि सम्झना गरेकी उनलाई आफ्ना बाबुसँग मनाएका ती कलिला दशैंहरूको सम्झना अत्यन्तै प्रिय लागेको छ । अन्तिम निबन्ध खीरबाटै संग्रहको नामकरण गरिएको छ । साउन पन्ध्रमा खीर खाने चलनको निरन्तरताका लागि ग्याँसमाथि प्रेसर कुकरमा बसाएको खीरले पनि उनलाई अतितमा नै फर्काएको छ ।
घरमा पाक्ने प्रत्येक आइतबारको खीर जुन उनका बाबुले पकाउँथे । त्यो खीरको स्वरूप, सुगन्ध, स्वाद आज उनले पकाउन खोजेको खीरमा भेट्न सकेकी छैनन् । दूध, चामल, मसला सबै छुट्टिएको खीर सोचेजस्तो बन्न सक्दैन । त्यसैले त उनले जीवनलाई नै खीर भनिदिइन् । बाबुले पकाएको खीरजस्तै बाक्लो र स्वादिलो जीवन अरूको भयो होला तर आफ्नो जीवन त्यही सानो प्रेसर कुकरमा बासी भातमा दूध र चिनी हालेर पकाएजस्तो छोक्राइलो बनेको गुनासो छ उनको । जीवन सोचेजस्तो नभएको बताउने मञ्जु आफ्नो एक्लो जीवनलाई एकपाटो सुकेको खीरजस्तै भन्छिन् । खीरसँग जोडिएको उनको यो जीवनदर्शन अत्यन्तै मार्मिक छ । पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मी हुर्किएकी लेखिकाले त्यहींको भूगोल, जनजीवन, चालचलन, परम्परालाई आफ्नो लेखनीमा समेटेकी छिन् । आत्मपरक निबन्धहरूको यो संगालोमा पूर्वेली भाषिकाको प्रयोग पनि देख्न पाइन्छ । लेखिकाकै पिता, सन्तरे बा, बिजुवा, बिजुवानी, ताराका बोलीमा खाट्टी पूर्वेलीपन पाइन्छ । सोल्लर, मुन्टा, भड्डु, खमार, पैनीजस्ता भाषिकागत शब्दको प्रयोग पनि भेटिन्छ । खोला तर्ने बेलामा बाती बालेर फूल चढाउने चलन, दशैंमा कुलायनको पूजा र मौलो हान्ने परम्पराले ग्रामीण संस्कृतिका नमुना प्रस्तुत गरेको छ ।
पहाडका उकाली, ओराली, गाईवस्तु, गोठालो, घाँसका भारी, भुटेका मकै, धुले अचार, कोदाको ढिंडो, धुलौटे स्कुल, मितिनी, मधेशको यात्रा तथा नन्द भाउजूका प्रसङ्गमा लेखकले आफ्नी भाउजूलाई अत्यन्तै श्रद्घाका साथ सम्झिएकी छिन् भने आमा र माइजूको प्रसङ्गमा पनि भाउजूलाई आमा बिर्साउने भनिएको छ । मितिनीले दिएको मन परेको चिम्टी यात्राका क्रममा हराएपछि बाँकी एउटा जुन एक्लै टाउकोमा सुहाउँदैन । संसारमा बिजोडीको कामै छैन भनेर चिम्टीको प्रसङ्गमा लेखिकाले भने पनि यो उनको सम्बन्धमा आएको फुट र घातको परिणाम प्रकट भएको अभिव्यक्ति हो झैं लाग्दछ । वास्तवमा नै संसारमा बिजोडी हुनु दुःखद अवस्था हो । अन्तत ः उनले जोडी पाएकी छिन् । खीर आत्मपरक संस्मरणात्मक निबन्धको संग्रहनीय संगालो बन्न पुगेको छ । पैरवी बुक हाउसले प्रकाशन गरेको ९२ पृष्ठको यो कृतिको मूल्य १५० रहेको छ ।
साभार – www.motivatenews.com