रियो ओलम्पिकको महिला फुटबलमा आयोजक ब्राजिलसहित जर्मनी, क्यानडा र स्वीडेनको विजयी सुरुवात

साउन २०, काठमाडौं – रियो ओलम्पिक २०१६ अन्तर्गत गएराति सम्पन्न महिला फुटबलमा आयोजक ब्राजिलसहित जर्मनी, क्यानडा र स्वीडेनले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्यो । दोश्रो खेलमा आयोजक ब्राजिलले चीनलाई ३–० को गोलान्तरले पराजित गर्यो । यस्तै गएराति नै भएको तेश्रो खेलमा क्यानडाले अस्ट्रेलियालाई २–० ले हरायो । अर्को खेलमा जर्मनीले जिम्बाबेलाई ६–१ ले हरायो ।

रियो ओलम्पिकको औपचारिक उद्घाटन भोलि हुने भएपनि फुटबलका खेल भने हिजोबाटै सुरु भएका हुन् । पुरुष फुटबलका खेल आज रातिबाट सुरु हुनेछन् । पुरुष फुटबलअन्तर्गत ब्राजिलका विभन्न रंगशालामा आज राति नौ खेल हुनेछन् । आज हुने पहिलो खेलमा इराक र डेनमार्क भिड्नेछन् भने दोश्रो खेलमा हन्डुरस र अल्जेरिया, तेश्रो खेलमा आयोजक ब्राजिल र साउथ अफ्रिकाबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै चौथो खेलमा मेक्सिको र जर्मनी, पाँचौमा पोर्चुगल र अर्जेन्टिना, छैठौँ खेलमा स्वीडेन र कोलम्बिया, सातौँमा फिजी र रिपब्लिक अफ कोरिया तथा नवौँ तथा आजको अन्तिम खेलमा नाइजेरिया र जापानबीच प्रतिष्पर्धा हुनेछ । ३१ औँ संस्करणको रियो ओलेम्पिक प्रतियोगिता औपचारिक रुपमा भने भोलीबाट शुरु हुँदैछ । खेलको औपचारिक उद्घाटन गर्न ब्राजिलका महान फुटबलर पेलेलाई आमन्त्रण गरिएको छ।