असार १९,काठमाडौं – अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर)ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ।
संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असाहयको कोटा काटेर कर्मचारीका छोराछोरी अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिन्छ।
बाल संगठन नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको सिफारिसका आधारमा २० विद्यार्थी निःशुल्क पढाउने सर्त स्वीकार गरेको थियो।
संगठनले २०५८ जेठ ८ गते ३० वर्षका लागि वार्षिक तीस लाख रुपैयाँ दिने गरी विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।
उक्त सम्झौताको १२।५ नम्बर बुँदामा संगठनको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधा नपाएका बालबालिकालाई डे बोडर्स छात्रवृत्ति प्रदान दिने उल्लेख छ ।
यस्तो छात्रवृत्तिअन्तर्गत विद्यार्थीले बिहानको खाना, दिउँसोको खाजा, कापी, किताब, कलम, विद्यालय पोसाक, अन्य शैक्षिक सामग्री र सबै शुल्क निस्शुल्क पाउँछन् । एकदेखि दस कक्षासम्म निस्शुल्क छात्रवृत्तिमा पढने विद्यार्थीका निम्ति विद्यालयले सरदर ११ लाख रुपैयाँ खर्च गर्छ ।
अनाथका छोराछोरी पढ्ने छात्रवृत्ति धेरैजसो कांग्रेस सम्बद्ध नेताका छोराछोरीले ओगटेका छन् । कांग्रेस, अछाम क्षेत्र नम्बर २ का पूर्वक्षेत्रीय सभापति यज्ञप्रसाद ढकालका छोरा यही छात्रवृत्तिमा दस कक्षामा पढ्छन् । ढकालले आफू द्वन्द्वपीडित भएका कारण छोरा छात्रवृत्तिमा पढाएको तर्क गरे ।
‘पहिलेदेखि संगठनका पदाधिकारी र आफन्तका छोराछोरीले छात्रवृत्तिमा पढछन् भन्ने सुनेको हो, तर मेरो छोराको हकमा अध्यक्षले नै चासो द्वन्द्वपीडितका नाममा छात्रवृति दिलाउनु भएको हो ।’ कांग्रेसको भ्रातृ संगठन नेविसंघका सिन्धुपाल्चोक सचिव निरोजकुमार भण्डारीका छोरा पनि यही छात्रवृत्तिमा एक कक्षामा पढ्छन् ।
भण्डारीले कस्तो छात्रवृत्ति हो भन्ने आफूलाई थाहा नभएको बताए । उनले भने, ‘नेताहरूसँग भनसुन गरेर मिलाएको हुँ, तपाईंलाई किन चासो ?’