असार १८ , काठमाडौं – काउन्सिल बैठक नबस्दा लाइसेन्स भने कायमै
नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ। तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ।
नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो। जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ।
पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार विभिन्न ११ जिल्लामा मुद्दा दायर गरेको छ। यसअघि पक्राउ परेका १७ जनाको लाइसेन्स भने रद्द भइसकेको छ।
नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई कारबाही गर्ने प्रस्ट कानुन छैन। मेडिकल काउन्सिल ऐनमा पनि यससम्बन्धी स्पष्ट व्यवस्था छैन। ‘०२० सालमा ऐन बनेको हो, त्यतिवेला डाक्टरलाई भगवान्जस्तो मानिन्थ्यो, कसैको सर्टिफिकेट नक्कली होला भन्ने अनुमान नै गर्न सकिँदैन थियो,’ मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले भने,‘‘अब हामी ऐन संशोधनको प्रक्रियामा लागेका छौँ।’
हालसम्म पक्राउ परेका चिकित्सकहरूको आइएस्सीको शैक्षिक प्रमाणपत्र मात्र छानबिन भएको हो। उनीहरूको एमबिबिएस तथा बिडिएसको प्रमाणपत्र प्रहरीले छानबिन भएको छैन। छानबिनका लागि आर्थिक समस्या रहेको प्रहरी अधिकारीहरूले बताएका छन्। शैक्षिक प्रमाणपत्रको छानबिन सम्बन्धित देशमै गएर गर्नुपर्ने हुन्छ।