नवलपरासी, ८ असार – नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाबाट पार्टीको नेतृत्व गर्न अध्यक्ष पदमा पुनः महन्थ ठाकुर चयन हुनुभएको छ ।
यद्यपि, यसको औपचारिक घोषणा हुन बाँकी छ । निर्वाचन समितिका अनुसार आज भएको निर्वाचन प्रक्रियामा मनोनयन पत्र दर्ताको क्रममा अध्यक्ष पदमा ठाकुरको मात्र उम्मेदवारी दर्ता भएपछि आगामी नेतृत्व लिन ठाकुर एकल दावेदार हुनुभएको हो ।
पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा एक जना अपाङग तर्फको सदस्य, तीन जना दलिततर्फको सदस्य, चार जना मुस्लिमतर्फको सदस्य र पाँच जना आदिवासी जनजाति सदस्य निर्विरोध भएका छन् । पार्टीको अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध गर्न पार्टी नेतृत्व पक्ति छलफलमा व्यस्त छन् ।
निर्वाचन हुने दुई महामन्त्री पदका लागि छ जना , एक कोषाध्यक्षका लागि तीन जना, दुई सहमहामन्त्रीका लागि १२ जनाको उम्मेदावारी परेको छ । यसैगरी ३१ जना खुल्ला केन्द्रीय सदस्यका लागि ५० जनाको उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यसपटक निर्वाचित र मनोनित गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।