सुर्खेत– बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए। कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ। जाँचका लागि तयार हुनू।’
धमिलो बनेको संसार छर्लङग देख्न पाइने आशा बोकेर उनी गत वर्ष जेठ २८ गते सरस्वती माविको शिविरमा पुगे। प्रारम्भिक जाँचका क्रममा उनको बायाँ आँखामा मोतीबिन्दुको संक्रमण देखियो।
सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम बाँकेअन्तर्गतको टोलीले उनलाई शल्यक्रियाका लागि वीरेन्द्रनगर बोलायो। आँखा खुल्ने भएपछि तुलबहादुरमा खुसीको सीमा रहेन। आँखा अस्पतालमा शल्यक्रिया गरेको तीन दिनपछि उनी घर फर्किए। पाँच दिनपछि पट्टी खोलियो। ‘टाउको दुख्ने, रिंगटा लाग्ने समस्याले गर्दा बेहोस हुन थालेपछि आत्तिँदै भोलिपल्टै शिविरमै पुगेँ,’ ६९ वर्षीय तुलबहादुरले भने, ‘अप्रेसनको लापरबाहीले ज्योति गुमेछ अनी आँखा फुटेछ।’
नेपालगन्ज मेडिकल कलेजका डा। प्रदीप बास्तोला नेतृत्वको टोलीले तुलबहादुरसहित ८५ जनाको शल्यक्रिया गरेको थियो। शल्यक्रिया विफल भएका १७ जनालाई सुर्खेत आँखा अस्पतालले कैलालीको गेटा अस्पतालमा रिफर पनि गर्यो। ‘त्यहाँ जाँच्दा रगत निस्कियो। अप्रेसन गरेको नौ दिनपछि आँखाको नानी खस्यो,’ तुलबहादुरले भने, ‘त्यसपछि आँखा खुल्ने आशा तुहियो। सर्वस्व गुमेझैं पीडा भएको छ।’ कल्याण–५ हिलेसोतका रत्नबहादुर वलीको पनि वीरेन्द्रनगर शिविरमै शल्यक्रियापश्चात् आँखा फुटेको छ।
शल्यक्रियामा बिग्रेको आँखाको ज्योति फर्काउन गेटा अस्पतालदेखि भरतपुरसम्म पुगे। तर, सफल भएनन्। टाढा नदेखिने समस्याबाट मुक्ति पाउन उपचार गराएका रत्नबहादुरले पनि अन्तत ज्योति मात्र होइन, सिंगै आँखा गुमाए। ‘राम्रो होला भनेको यस्तो भयो,’ केही दिनअघि आँगनमा छामछुम गरिरहेका वलीले भने, ‘भरतपुरका डाक्टरले जाली फुटेछ भनेपछि त आसै मारेर फर्किएँ।’ त्यसपछि उनले देखावटी सुन्दरताका लागि नदेखिने कृत्रिम आँखा हालेका छन्। सुर्खेत आँखा अस्पतालले आयोजना गरेको शिविरमा कल्याण, दशरथपुर र लेखफर्सा गाविसका गरी ८ जनाले त्यतिबेला आँखा गुमाए। शल्यक्रिया बिग्रेका सबैलाई अस्पतालले कैलाली रिफर गरेको थियो। दशरथपुरका गंगबहादुर दर्लामी अप्रेसन गरेकामा अहिले पछुताउँछन्।
‘यस्तो हुने भए अप्रेसन गर्थिनँ। आँखा गुमेपछि डाक्टरले नक्कली आँखा राख्छौं भन्थे। मैले मानिनँ,’ दर्लामीले दुखेसो पोखे, ‘अनाहकमा अन्धकारमा धकेल्नेलाई कतैबाट कारबाही भएन।’ टाउको दुख्ने समस्याले पिरोलेपछि त्यतिबेला आफूहरूले उजुरी दिनेतर्फ ध्यान दिन नसकेको पीडितहरूले बताएका छन्।