काठमाडौं– यातायात व्यवस्था विभागले अनिवार्य गर्नुपर्ने भनेको विध्युतीय स्कुटरको दर्ता प्रक्रिया अलपत्र परेको छ। दर्ता नियम लागू भएर पनि कार्यान्वयन हुन नसक्दा व्यवसायी अलमलमा हुन्। विभागले २०७२ चैत १ गते निर्देशिका जारी गर्दै १५ दिनभित्र अर्थात् चैत १५ गतेभित्र सबै विद्युतीय स्कुटर तथा मोटरसाइकल दर्ता गर्न निर्देशन दिएको थियो। यो सँगै चालकसँग लाइन्सेन्स अनिवार्य हुनुपर्ने पनि बताएको थियो। साथै विभागले उपत्यकामा १२ सय वाटभन्दा कम क्षमताका यस्ता साधन प्रयोग गर्न पनि नदिने जनाएको थियो।
तर म्याद पुगेको डेढ महिना बितिसक्दा पनि नियम कार्यान्वयनमा आउन सकेको छैन। सामान्यतया सवारीसाधन दर्ता कम्पनीले दिएको प्रमाणपत्र तथा कागजातका आधारमा गरिन्छ। तर विद्युतीय दुईपांग्रेमा भने रोड वर्दिनेस परीक्षणको झमेला लागेकाले दर्ता प्रक्रिया अलपत्र परेको हो।
‘सडकमा विद्युतीय दुईपांग्रेको चाप बढ्दै गएपछि दर्ता तथा लाइसेन्सको नियम लागू गरिएको हो तर हालसम्म पनि यसले पूर्णता भने पाउन सकेको छैन ।
दर्ता प्रक्रियाः
विभागका अनुसार रोड वर्दिनेस परीक्षणमा पास भएपछि सवारी साधन दर्ता कम्पनीले नै गराउनुपर्छ। ग्राहकले अन्य सवारीसाधन झैँ कम्पनीबाट दर्ता नम्बर (नम्बर प्लेट) लिनुपर्छ। विद्युतीय दुईपांग्रेका लागि नै भनेर नियम नभएकाले यसलाई १२५ सिसिको दुईपांग्रेका मापदण्डका आधारमा दर्ता गरिन्छ। सोहीअनुसार कम्पनीले सडक सम्भार दस्तुर तिर्नपर्छ।
तर ब्लुबुकका लागि १ सय ५० रुपैयाँ मात्र तोकिएको छ। ग्राहकले ब्लुबुक लिदाँ हाल थर्ड पार्टी बिमा पनि गर्नुपर्ने हुनाले १२५ सिसिको दुईपांग्रेको मापदण्डका आधारमा ११ सय ३५ रुपैयाँ भने तिर्नैपर्ने प्रवक्ता अधिकारीले जानकारी दिए। दर्ता गरिएको नम्बर हाल दुईपांग्रेमा दिइआएको नम्बरमै निरन्तर हुने पनि उनले बताए।