वैशाख २१, महोत्तरी–सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बाँके चोकमा रहेको जिल्ला वन कार्यालयको वनरक्षक बस्ने क्वार्टरमा १८ दिन अगाडिदेखि बस्दै आएको सो विशाल सर्पलाई दर्शन गर्न दिनहुँ दूध, लावा र भेटी लिएर आउने सर्वसाधारणको भीड लागेको छ ।
सो सर्पलाई हेर्नको लागि दिनहुँ ४÷५ हजारको सङ्ख्यामा मानिसहरू आउने गरेका र अहिलेसम्म २१ हजार भेटी सङ्कलन भएको कालिन्जोर–६ का टलकबहादुर मगरले बताए । हेर्दा अजिगङ्र जस्तो लागेपनि सो सर्प नागिनको रुप भएकाले धार्मिक दृष्टिकोणले नाग जोडीको पूजाआजा गर्ने परम्पराअनुसार दूध र लावा चढाएर मानिसले पूजा गरिरहेका मगरको भनाइ रहेको छ ।
जङ्गली सर्प भए तापनि सो विशाल सर्पलाई मानिसले नजिकै गएर हातले स्पर्श गर्दासमेत कुनै प्रतिक्रिया देखाएको छैन । सर्पमा हुनुपर्ने गुण नागीन सर्पले नदेखाएपछि दर्शन गर्न त्यहाँ पुग्ने मानिस तीन छक्क परेका छन् ।
सर्पको दर्शन गर्न पुग्नेमध्ये कतिपयले देवीदेवता आएर हा हु गर्दै जीउ कमाउने गरेका छन् । उनीहरू हा हु गर्दै कराउने, जीउ तङ्ग्राउने र बेहोस हुने गरेका छन् । उनीहरूलाई उठाएर सर्प भएको कोठामा राखी दिँदा केही छिनमा पहिलेको अवस्थामा फर्किने गर्दछन् । मानिसले त्यहाँ मन्दिर बनाउन जुटेका छन् । २४ घन्टा सवारीसाधन गुड्ने राजमार्गमा हेर्नेको ठूलै भीड लाग्ने गरेको छ ।