चैत २१, पर्वत– पर्वतको लेकफाँटका किसान दैनिक ६ घन्टा पैदल हिहेर छिमेकी जिल्ला म्याग्दीको सदमुकाम बेनीमा दूध बेच्न जाने गरेका छन्।
गाँउमा सडक पुगेको वर्षौं भएपनि सवारी साधन नचल्दा उनीहरुले पीठ्युँमा बोकेर दूध ढुवानी गर्न बाध्य छन्।
गाँउमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा दूधको भारी बोकेर बेनी आउने गरेको लेकफाँट गडेखोलाका बाबुराम रेग्मीले बताए। रेग्मीले लेकफाँटबाट बेनीमा दूध ल्याएर बिक्री गर्न थालेको १० वर्ष बितिसकेको छ। ४६ बर्षीय रेग्मीले बेनी आउन तीन घण्टा ओरालो र बेनीबाट घर पुग्न तीन घण्टा उकालो हिँड्नु पर्ने बाध्यता रहेको बताए।
पर्वतको धाइरिङ, मिलनचोक हुँदै लेकफाँट जोड्ने सडक घुमाउरो, कच्ची, प्राविधिक हिसावले कमजोर हुँदा न्यून मात्रामा सार्वजनिक यातायातका साधन चल्छन्। गाडी रिजर्भ गरेर अथवा आफैले गाडी किन्न सक्ने अवस्था नहुँदा किसानलाई दूध ढुवानी गर्न समस्या भएको हो। (अन्नपूर्ण पोस्ट दैनिकबाट)