चन्द्रकिशोर –नेपाली कांग्रेसको १३ औं महाधिवेशनका क्रममा धेरै विदेशी पाहुनाहरू आएका थिए। ती मध्येका एक थिए, भारतीय राज्य विहारका मुख्यमन्त्री नीतिश कुमार। नीतिश कुमार कांग्रेसले व्यवस्था गरिदिएको होटलमा बसेनन्।
उनी आफ्ना क्याम्पस पढ्दाका साथी तथा नेपालस्थित ओशो तपोवनका प्रमुख संस्थापक स्वामी आनन्द अरुणको आतिथ्यमा उपत्यका छेउकै डाँडा नार्गाजुनमा बसे। स्मरणीय के छ भने अरुण मिथिलाञ्चलका हुन् भने नीतिश कुमार विहारस्थित मगधका।
उनी त्यहाँ बस्दाका रमाइला तस्बिरहरू विभिन्न सञ्चार माध्यममा छायो। तर यो बसाइको प्रतिकात्मक महत्त्व पनि छ। नीतिश कुमार भारतीय राजनीतिका एक प्रभावशाली हस्ती पनि हुन्।
नेपाल र भारत बीचको सम्बन्धको कुरा गर्दा दुई मुलुक बीचको राज्यस्तरीय सम्बन्ध नै निर्णायक हो। अर्को कुरा के हो भने राज्य बन्नुभन्दा अघि विभिन्न व्यक्ति, जाति वा त्यस्तै अन्य समूहबीच सम्बन्ध स्थापित हुनसक्छ, रहेको छ।
तर आधुनिक समयमा अन्तर्राष्ट्रिय सम्बन्ध भनेको अन्तरराज्यको सम्बन्ध नै हो। संयुक्त राष्ट्र संघको सदस्य पनि राज्य नै हुने प्रावधान छ। यसले के देखाउँछ भने दुई सार्वभौम मुलुक बीचको सम्बन्धको निर्धारण राज्यका आधिकारिक प्रतिनिधिद्वारा गरिन्छ। यो भनिरहँदा राज्यस्तरको सम्बन्ध बाहेक अन्य संयन्त्रको सम्बन्ध हुँदैन भन्ने होइन। ती सम्बन्धको पनि आफ्नै महिमा र गरिमा छ।
राज्य–राज्य बीचको सम्बन्धलाई परिभाषित गर्ने तत्त्वहरू भनेकै भूगोल, समुदाय, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षहरू हुन्। राज्यले यी सबै तत्त्वबाट उत्पन्न मानकहरूलाई संयोजन गर्दै बृहत रूपमा अन्तर्राष्ट्रिय सम्बन्धको लकिर खिच्छ।
राज्य बीचको सम्बन्धमा दूरी रह्यो भने पनि दुई मुलुकबीच जनस्तरको सम्बन्ध साविककै गतिमा रहन सक्छ। कतिपय सन्दर्भमा राज्य बीचको सम्बन्ध चिसिन जाँदा जनस्तरका सम्बन्धमा पनि उतार—चढाव आउँछ।
यसले के देखाउँछ भने राज्यको सम्बन्धको बहुआयामिक निरन्तरतालाई आन्तरिक र बाह्य पक्षहरूले प्रभावित गरिराखेको हुन्छ। नेपाल–भारत बीचकै सम्बन्धको कुरा गर्दा दुई मुलुक बीचमा जहिले पनि उठ्ने सवाल के हो भने नेपाल र भारत किन असल छिमेकी हुन सक्दैनन्रु देशहरू बीचको सिमानालाई परिभाषित गर्ने केही मूर्त इकाइहरू हुन्छन्। जस्तै— समुद्र, नदी, अग्ला पहाड, मरुभूमि आदि।
जसले प्राकृतिक रूपमै साँध निर्माण गरेको हुन्छ। तर भूपरिवेष्टित भौगोलिक अवस्थिति वा भूमिको अभिन्नता हुन्छ, त्यहाँको सिमाना भनेको राजनीतिक रूपमा नै रेखांकित हो। यस्तो सिमानाले कुनै कालखण्डमा भएको राजनीतिक निर्णयका आधारमा आकार ग्रहण गरेको हुन्छ।
भारतसँगको सिमानाको निर्धारण यस्तै एउटा राजनीतिक निर्णय अर्थात् २०० वर्ष पहिले भएको सुगौली सन्धिमा आधारित छ। राजनीतिक सिमाना एउटा कृत्रिम सिमाना हो।
त्यो कुन अर्थमा भने दुवै देशतर्फ साझा संस्कृति र परस्पर निर्भरताका अनेकौं तत्त्वहरू विद्यमान हुन्छन्। यसले दुवैतर्फका सामान्य जनताको दैनिकीलाई परस्पर अन्तरनिर्भर बनाएको छ। यो यथार्थ हो। यसैले सिमाना वारिपारि एउटा खास प्रकारको मनोविज्ञान देखापर्छ, जसलाई सीमाञ्चलको मनोविज्ञान भन्ने गरिन्छ।
यस्तो मनोविज्ञान आफ्नो सार्वभौम मुलुकको राजधानीमा देखिने धारणाभन्दा पृथक हुनसक्छ। सँगै अर्को पाटो के हो भने प्रायस् दुई राजधानी बीचको सम्बन्धले सीमाञ्चलको गतिविधिलाई पनि नियन्त्रित वा प्रभावित गरिराखेको हुन्छ। जुन राजधानीबाट हेर्दैमा सजिलै देख्न र बुझ्न सकिँदैन।
नेपालको लागि विहार आकार र सरोकारका हिसाबले सिंगो भारत हो। यो भनिराख्दा दिल्लीको निर्णायक सामथ्र्यलाई चुनौती दिएको होइन। तर विहारसँग जसरी दैनन्दिनका बृहत्तर सरोकारहरू जोडिएका छन्, त्यसले नेपालीको राजनीतिदेखि आर्थिकसम्म, धार्मिकदेखि सांस्कृतिकसम्मका अनेकन पहलुहरू निर्माण गरेको छ। विहारमा हुने गतिविधिहरूको सोझो प्रभाव नेपालमा पर्छ नै।
त्यसैगरी विहारसँग जोडिएका नेपाली भूमिमा हुने गतिविधिहरूको प्रत्यक्ष असर विहारमा पनि परिरहेको हुन्छ। नेपालको दक्षिणी भूगोलमा पछिल्ला केही महिना आन्दोलन भइराख्दा विहारको दुई मुख्य नाका रक्सौल र जोगवनी र त्योसँग जोडिएका सीमावर्ती सहर र कस्वाहरूको रौनक महिनौंसम्म हरायो। स्वभावतस् विहारको राजनीतिमा यसले नेपालप्रति संवादको आवश्यकतालाई बेलाबखत उठाइरह्यो।
त्यसमा पनि मुख्यमन्त्री नीतिश कुमारको एउटा भनाइ नै नेपाली सन्दर्भमा चर्चित छ, ‘जब विहार बाढ में डुंबा होता हंै, तो हमें नेपाल याद आती हैं।’
बाढी व्यवस्थापन, संक्रामक रोगहरूको नियन्त्रण, प्राकृतिक विपत्तिहरूको व्यवस्थापन, सामाजिक विसंगतिहरूको न्युनीकरण, सीमापार अपराधजस्ता पक्षहरू कुनै एउटा पक्षको तत्परताले मात्रै नियन्त्रण सम्भव हुँदैन।
पारिपट्टिसँग समन्वय र सहकार्यको विकल्प छैन। जनस्तरको सम्बन्ध प्रभावकारी बनाउनका लागि पनि छिमेकी भारतीय राज्यहरूबारे काठमाडौंमा सही सूचना र विश्लेषण आवश्यक हुन्छ। काठमाडौंमा दिल्लीका बारेमा जान्ने र दिल्लीलाई नै समग्र भारत मानेर विश्लेषण गर्नेहरू प्रशस्तै भेटिन्छन्।
तर विहारका बारेमा आधिकारिक जानकारी राख्ने र जनस्तरको सम्बन्धबारे मिहिन अभिरुचि राख्नेहरू विरलै छन्। जबसम्म विहारजस्ता सीमावर्ती राज्यका बारेमा काठमाडौंले सही भेउ पाउँदैन, तबसम्म हामीले आफ्नो आन्तरिक व्यवस्थापन गर्न सक्दैनौं। उसो त नेपालसँग जोडिएका भारतीय राज्यहरू उत्तराखण्ड, उत्तरप्रदेश, पश्चिम बंगाल, सिक्किमसँगको आफ्नै खालका सरोकारहरू छन्।
तर हाम्रालागि विहार निश्चित रूपमा यिनीहरूभन्दा बढी सरोकारको विषय हो। किनभने हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा र जनस्तरको व्यापक सम्बन्ध विहारसँग घनिष्ट रूपमा जोडिएको छ। त्यसैले नेपालमा विहारको समाज, अर्थतन्त्र, परम्परा र संस्कृतिजस्ता विषय अध्ययनको सुव्यवस्थित प्रयत्न हुन जरुरी देखिन्छ।
एउटै सभ्यता भएर पनि दुई मुलुकबीच सहज सम्बन्ध नभएको उदाहरण विश्वमा नभएको होइन। सीमाञ्चल क्षेत्रमा भइरहेका उतार—चढाव, दुई केन्द्रहरू बीचको विरह वा मिलनले गर्दा कालान्तरमा नेपाल–भारत सीमाञ्चल क्षेत्रको जनस्तरको सम्बन्ध यथास्थितिमै अघि बढ्छ भन्ने पनि छैन।
त्यसका संकेतहरू पनि बेलाबखत देखिने गरेकै हो। तर मुख्य पक्ष के हो भने हामीले शान्तिपूर्ण तरिकाले सीमामा स्थायित्व खोजेको हो र आफ्ना नागरिकहरूको सम्मानजनक उपस्थितिको निरन्तरता खोजेको हो। यो पाटोबाट हेर्दा काठमाडौंका लागि विहारको पटना हुँदै दिल्ली जान बढी हितकर हुने देखिन्छ।
तर व्यवहारमा के भैराखेको छ भने दिल्लीले व्यवस्थापन गर्दा दिल्लीको बाटो भई पटना हुँदै लखनऊ पुगिन्छ। यो सबैले स्वीकार्दै आएको कुरा हो, परराष्ट्र नीति भनेको हाम्रो गृहनीतिकै विस्तार हो।
नेपाली जनताको आर्थिक, सामाजिक विकास र राजनीतिक स्थिरता कायम गर्नु नै हाम्रो नीतिको प्राथमिकता हो भने त्यस अर्थमा छिमेकी भारतसँगको सम्बन्ध, समन्वय र सहयोगको कुरा लक्षित हुन आउँछ। यसका निम्ति पनि विहारसँगको चासो महत्त्वपूर्ण हुने नै भयो।
प्रश्न उठ्न सक्छ, भारतीय सन्दर्भमा विहार आफैंले काठमाडौंसँग सम्बन्ध निर्धारण गर्न सक्दैन। त्यो भनेको पटना दिल्लीकै बाटो भएर काठमाडौसँग जोडिने हो। त्यसो भए, काठमाडौंले दिल्लीसँग सामिप्यमा रहन किन पटनाको बाटो रोज्नेरु सरसर्ती हेर्दा कुरा ठिकै देखिन्छ। नीतिश कुमार नेपाल आउँदा पनि उनी आफ्नो केन्द्रीय प्रतिष्ठानको रुझान बुझेर आएका थिए।
त्यही अनुसार उनले नेपालबारे आफ्नो संयमित र सन्तुलित अभिव्यक्ति पनि दिए। यसो गरिरहँदा उनले विहारसँगको नेपाल साइनो अथ्र्याउन भने चुकेनन्। तर नेपाली कांग्रेसको राजनीतिक सरगर्मीले गर्दा नीतिश कुमारका निहितार्थहरू काठमाडौंको बौद्धिक वृत्तमा ओझेलमा पर्यो।
स्वामी आनन्द अरुणको नीतिश कुमारसँगको पुरानो मैत्री सम्बन्ध जनस्तरको सम्बन्धको प्रतीक हो। यस्ता जनस्तरको सम्बन्धको समुच्चिकृत रूपले नै राज्यहरूबीच हुने सम्बन्धलाई उत्प्रेरित र आकार दिने काम गर्छ। आज कांग्रेसभित्र नै विहारको राजनीतिक–सामाजिक जीवनमा निजी सम्बन्ध र रुचि राख्ने कतिजना बाँकी होलान्रु
विहारका विश्वविद्यालयहरूमा हाम्रा कति बुद्धिजीवीहरूको उपस्थिति र प्रभाव छरु नेपाली सञ्चार माध्यममा विहारबारे के कस्ता सामग्रीहरू पस्किन्छरु नेपाली हितलाई केन्द्रमा राखेर विहारी साइनोबारे उठ्ने प्रश्नहरूको खोजी अहिलेको आवश्यकता हो।
दिल्लीले बेलाबखत नेपालसँग सुरक्षा चासो प्रखर रूपमा उठाउने गर्छ। तिनका कतिपय सुरक्षा चासो जायज छन् भने केही अतिरञ्जित। सीमावर्ती क्षेत्रमा वारिपारि प्रशासनिक समन्वयले पनि कतिपय अपराध नियन्त्रणका काम सकारात्मक रूपमा अगाडि बढ्न सक्छन्।
सीमा व्यवस्थापनका लागि आफ्नै प्रकारको प्रशासनिक कुशलता जरुरी हुन्छ। सीमाञ्चलको वारि र पारि बलियो कानुनी व्यवस्थापन गराउन सकियो भने कतिपय सीमापार अपराधहरू स्वतस् निस्तेज हुन पुग्छन्।
त्यसका निम्ति दुवैतर्फका जिल्लाहरूको सुरक्षा कमाण्ड सम्हालेकाहरूबीच सीमा क्षेत्रको संवेदनशीलता बुझ्ने ज्ञान र सीप आवश्यक पर्छ। तराईका जिल्लाहरूमा पदस्थापन हुने सुरक्षा अधिकारीहरूलाई सीमावर्ती क्षेत्रको संवेदनशीलता र अन्य पक्षबारे त्यहाँ खटिनु अघि नै आवश्यक परामर्श र प्रशिक्षण दिनुपर्छ।
यी सम्पूर्ण विवेचनाले के देखाउँछन् भने दक्षिणी छिमेकी दिल्लीसँगको सम्बन्धको आफ्नै पाटो छ। तर असल छिमेकी बन्न र बनाउनका लागि जनस्तरको सम्बन्धको आयामलाई बुझ्नु र बुझाउनु जरुरी छ।
नीतिश कुमार र स्वामी आनन्द अरुण बीचको मित्रता उनका निजी सरोकारका विषय भए पनि यही निजत्वको सम्बन्ध नै जनस्तरको सम्बन्धको जग हुनपुग्छ। जनस्तरको सम्बन्धको पुँजीलाई हाम्रो आन्तरिक समृद्धि र स्थिरतामा कसरी अनुवाद गर्नेरु यसबारे पर्याप्त बहस, विमर्श र छलफलको खाँचो छ।