चैत १५, काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृसंस्थाहरुको अधिवेशन समयमै गर्न निर्देशन दिएका छन् ।
सभापति देउवालाई सम्मान गर्न बुढानिलकण्ठ पुगेका नेपाल तरुण दलका प्रतिनिधिहरुलाई समयमै अधिवेशन गर्न निर्देशन दिएका हुन् ।
देउवाले लामो समय प्रमुख भातृसंस्थाहरुको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुग्ने उल्लेख गरे । ‘अब कुनै पनि बहानामा अधिवेशनमा ढिलाई गर्नुहुन्न’, सभापति देउवाले भने, अधिवेशन गराउन पार्टीले पुरा सहयोग गर्छ ।’
तरुण दलका अध्यक्ष एवम् सांसद उदय शमशेर राणाले विगतमा पार्टी नेतृत्वको असहयोगले अधिवेशन गर्न समस्या भएको उल्लेख गर्दै अब तरुण दल अधिवेशनमा जुटिसकेको बताए । उनले केही दिनमै दलको बैठक बोलाएर अधिवेशनमा लाग्ने जनाए । ‘पार्टीले तोकेको समयभित्रै अधिवेशन सम्पन्न गर्ने गरी हामी लाग्छा’ैं, राणाले भने, अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न पनि आतुर छु ।’
सभापतिमा देउवा निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना भित्र भातृसंस्थाहरुको अधिवेशन गर्न निर्देशन दिएको थियो । देशको पुरानो र सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका प्रमुख भातृसंस्थाहरुको ८ बर्ष देखि अधिवेशन हुन सकेको छैन । विगतमा अधिवेशनबाट आफु अनुकुल नेतृत्व नआउने देखेपछि तत्कालिन पार्टी नेतृत्वले भातृसंस्थाहरुको अधिवेशन गराउन चासो नदेखाएको आरोप देउवा पक्षले लगाउँदै आएको थियो ।
यति बेला पार्टी सभापतिमा देउवा विजयी भएपछि उनले भातृसंस्थाहरुको अधिवेशनलाई प्राथमिकतामा राखेको उनी निकट नेताहरु बताउँछन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघ लगायत आधा दर्जन भातृसंस्थाहरुको अधिवेशन हुन सकेको छैन ।
समयमै अधिवेशन गर्न सभापति देउवाको निर्देशन
