वासु शशी स्मृति अभिनन्दनबाट कालीप्रसाद रिजाल सम्मानित

चैत १४, काठमाडौं– कवि तथा गीतकार कालीप्रसाद रिजाल ‘वासु शशी स्मृति अभिनन्दन–२०७२’ द्वारा सम्मानित भएका छन् ।
वरिष्ठ कवि एवम् नाटककार वासु शशीको ८० औँ जन्मजयन्तीका अवसरमा वासु शशी स्मृति परिषद्ले आयोजना गरेको  सम्मान एवम् पुरस्कार वितरण समारोहमा रिजालसहित रु १५ हजार राशीसहितको ‘वासु शशी स्मृति पुरस्कार–२०७२’ द्वारा कवि उषा शेरचनलाई पुरस्कृत गरियो ।
विसं १९९६ चैत १० गते धरानमा जन्मिएका कवि रिजालले २०१९ सालमा ‘ज्वारभाटा’ कविता सङ्ग्रह प्रकाशित गरेर उनले साहित्यिक क्षेत्रमा पाइला चालेका थिए । उनको कविता सङ्ग्रह र गीत सङ्ग्रह गरी हालसम्म १६ कृति तथा सङ्ग्रह प्रकाशित भइसकेका छन् । उनले रोयल नेपाल एकेडेमी पदक–२०२०, रत्नश्री पदक–२०३४, छिन्नलता पुरस्कार–२०४९, भानुभक्त पुरस्कार–२०७१ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।
विसं २०११ वैशाख २८ गते पोखरामा जन्मिएका अर्का पुरस्कृत कवि शेरचनले २०४८ सालमा पहिलो पटक ‘नजन्मेका आस्थाहरु’ कवितासङ्ग्रह प्रकाशित गरेकी थिइन् । हालसम्म उनका चार कवितासङ्ग्रह र पाँच गिती एल्बम प्रकाशनमा आइसकेका छन् । भूपी स्मृति सम्मान–२०५७, पोखरेली दिदीबहिनी सम्मान–२०५७, सेलिब्रेटिङ् वुमनहुड नवदेवी भगवती सम्मान–२०७१ जस्ता सम्मानबाट सम्मानित भइसकेका कवि शेरचन विभिन्न सङ्घसंस्थामा आबद्ध रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएकी छिन् ।
परिषद्का अध्यक्ष कृष्ण जोशीले २०५० सालमा स्थापित परिषद्ले नेपाली भाषा साहित्यका विभिन्न विधामा दिशाबोध प्रदान गरी नयाँ आयाम थप गर्न सफल, दीर्घसेवी, सृजनशील तथा साधरनारत साहित्यकारलाई पुरस्कृत गरी साहित्य क्षेत्रमा अगाडि बढाउन हौसला प्रदान गर्ने विश्वास लिएको बताए ।