अभि सुवेदी–नेपाली काङ्ग्रेसको तेह्रौं कुम्भमेला २०७२ ले काठमाडौं मध्यमवर्गीय रौनकले रञ्जित छ । यहाँ भूकम्पको कारणले यस्तो ठूलो आम हलचल हुन पनि सम्भव थिएन । नाकाबन्दीको कारणले झन् अर्को समस्या थपिएको थियो । समग्रमा त्यो जीवन खुम्चिएको अवस्था हो । त्यसैले यो महाधिवेशनले केही नयाँ तरङ्ग ल्याएकै हो । एउटा सबैभन्दा पुरानो र ठूलो पार्टीको महाधिवेशनको इतिहास पत्रिकाहरूले छापेका छन् ।
समर्थन र आलोचनाका लेखहरू विद्वानहरूले लेखि आएका छन् । कलकत्ता, बनारसजस्ता भारतीय सहरहरूमा भएका अधिवेशनको इतिहास चाखलाग्दा र वाचाल छन् । काङ्ग्रेस पार्टीको यो भेलाको अमूक क्रान्तिकारी तरङ्ग होला, लेख्नलाई मेरो जानकारी छैन । तर एकाध कुरा भन्नैपर्छ, नेपालमा आधुनिक युग ल्याउन यो पार्टीले ठूलो काम गरेको हो ।
त्यसमा पनि यो दलका नेता नै विश्वेश्वरप्रसाद कोइरालाजस्ता व्यक्ति भएका कारणले पनि यो दलको महत्त्व बढेको हो । बीपीको जीवनका केही यथार्थहरू अनौठा छन् । तिनको जीवनका धेरै वर्ष निर्वासनमा बिते । सुन्दरीजल जेलको तिनको राजबन्दी अवस्था पनि एउटा निर्वासनको अवस्थाजस्तै थियो । नेपाली काङ्ग्रेसका यी नेताका धेरै वर्ष आन्तरिक र बाह्य निर्वासनमा बिते पनि यिनको दलले आधुनिक कालमा सबैभन्दा धेरैपटक र लामो शासन गरेको हो । त्यसैले आज आलोचना गर्नेले ती कुरा नउठाई छोड्दैनन् ।
बीपीको इतिहास लिएरभन्दा नेपाली काङ्ग्रेसले सायद नेपाललाई सामन्ती युगबाट बाहिर निकाल्न ठूलो भूमिका खेलेको छ । तर निदानमा पुर्यायो कि पुर्याएन, बहसको विषय हो । यस देशका सामन्ती शासकहरू र तिनको संस्कारसँग लड्न यो दलले काम गरेकै हो । राणाकाल अनि त्यसपछि पञ्चायतीकाल, दुबै सामन्ती कालहरूमा लोकतन्त्रको विश्वासले लडिरहने व्यक्ति हुन्– बीपी कोइराला । तिनले शारीरिक र वैचारिक हिसाबले यी लडाइँहरू लडे । त्यसैगरी गणेशमान सिंहले लडेको कथा छ ।
मैले खासगरी देखेका अघिल्लो पुस्ताका नेपाली काङ्ग्रेसका नेताहरूमा गणेशमान सिंह हुन् । तिनलाई बलिया, लौहपुरुष इत्यादि भनिन्थे । एक पटक राष्ट्रिय सभागृहमा आफूलाई लौहपुरुष भनिरहने मानिसहरूलाई तिनले भनेका थिए, ‘मलाई लौहपुरुष नभन्नोस् । तीनवटा राजाले घोट्दा–घोट्दा म अब लौहभष्म भइसकेंँ ।’
यी लौहपुरुषको अन्त्यन्त कोमल मन र भावुक चरित्र पनि मैले देख्ने अवसर पाएको छु । सत्चालीस सालको राजनीतिक परिवर्तन भइसकेपछिका वर्षहरूको एकदिन गणेशमान कुरैकुरामा भावुक भए, अनि भने, ‘खै, कत्रा सपना लिएर काम गरियो, प्रजातन्त्रका निम्ति । यो चाल हेर्दा साथीहरूले राजालाई लगेर यो पनि सुम्पिदिनेछन् जस्तो लाग्न थालेको छ ।’ त्यसो भनेर ती भक्कानिएर रोए ।
नेपालको राजनीतिक इतिहासमा लोकतन्त्रको माध्यमले देशलाई मध्ययुगिन अवस्थाबाट बाहिर निकाल्ने काम गर्ने यी वृद्ध नेताहरूका मानवीय चरित्र र विचारले के आजको तिनको दल चलाउन सक्छन् रु काङ्ग्रेसका युवानेताहरूका के अलग चिनिने विचार एजेन्डा छन् रु मेरो यस विषयमा अनभिज्ञता छ । नेपालका कम्युनिष्ट आन्दोलनका अनेकौं आयाम देखिए । त्यसमा माओवादी जनयुद्ध पछिल्लो र सबैभन्दा महत्त्वपूर्ण घटना हो । जे होस्, नेपाली काङ्ग्रेसको यो महाधिवेशन राष्ट्रिय महत्त्वको विषय हो । तर यस अवसरमा सबै दललाई एकाध कुरा राख्नु उपयुक्त ठान्छु ।
काङ्ग्रेससहित राजनीतिक दलहरूले आफ्नो प्रभाव फैलाउने र ताजा र छिटो काम गर्न सकिने थलो विश्वविद्यालयलाई मानेका छन् । विद्यार्थी संघरसङ्गठनहरू अनेकौं दलहरूमा विभाजित भएर सक्रिय भए । मेरो आफ्नै प्रत्यक्ष अनुभव भएको कारणले यस विषयमा मेरा भनाइ निजी प्रतिक्रियाजन्य पनि हुनसक्छन् । नेपालका ठूला राजनीतिक दलहरूलाई संगठनका चुनौती परेका कथा छन् ।
आफ्ना कार्यकर्ता वा क्याडरहरूबाट प्रोपगन्डा गराउन अप्ठेरो परेपछि पार्टीहरू विद्यार्थीतिर फर्किए । विद्यार्थीले पार्टीको प्रचार छिटो, चुस्त र नाटकीय ढङ्गले गरे । जनतासम्म खासै पुग्न नसक्ने दलहरूका निम्ति त्यो एउटा ठूलो उपलब्धि थियो । अर्कोतिर नेपालका राजनीतिक आन्दोलन धेरैजसो सहरकेन्द्रित भए । विद्यार्थी सहर चेतनाको प्रतीक हो । यसरी विद्यार्थी दलहरूका निम्ति सहज र प्रभावकारी प्रयोगको विषय भयो ।
विद्यार्थीको पञ्चायतकालको भूमिका परिवर्तनकारी र विद्रोही प्रकृतिको थियो । उनीहरूका माध्यमले दलहरूले आफ्ना कुरा राख्न सक्थे । विद्यार्थीहरूका आन्दोलन स्वस्फुर्त हुन्छन् । यसरी विद्यार्थीहरू नेपालका राजनीतिक दलहरूसँग आबद्ध हुँदै गए । विद्यार्थी संस्थाहरू आफ्ना झगडा मिलाउन पार्टीका नेताहरूलाई गुहार्न थाले । राजनीतिक नेताहरूका मुड र गुटसमेत विद्यार्थीका संगठनहरूमा देखिन थाले । मैले देख्दै गएँ, विद्यार्थीहरू विद्यार्थीभन्दा बढी राजनीतिक दलका सहज कार्यकर्ताका रूपमा परिणत हुँदै गए ।
नेपालमा राजनीतिक दलहरूको लोकतन्त्र स्थापना गर्न सानो—ठूलो जस्तो भए पनि भूमिका छ । तिनको राजनीतिक कथा महत्त्वपूर्ण छ । तर दलहरूले विद्यार्थीहरूलाई पार्टी राजनीतिमा प्रयोग गरेपछिका परिणाहरू सूक्ष्म र सोचनीय छन् । दलीय संस्कृतिको आधार राजनीतिक र प्रजातान्त्रिक हो । तर त्यसलाई बल दिने अथवा त्यसलाई बचाउने आधार समाजका स्वतन्त्र संघ, व्यक्ति र वर्गहरू हुन् । तिनले कुनै पनि दललाई, कुनै पनि सरकारलाई गलत बाटोमा गयो भने आलोचना गर्छन् । विद्रोह नै गर्छन् । तिनले आम चेतना जगाउँछन् र कतिपय कुरामा सरकारी निर्णयहरू परिवर्तनसमेत गराउँछन् । त्यो प्रजातन्त्रको सामथ्र्य हो । नेपालमा दलीय संस्कृतिको सफलतापूर्वक विकास भयो, तर समाजमा प्रतिरोधी शक्तिको विकास हुनपाएन ।
म लामो समयदेखि विद्यार्थीहरूसँग काम गरेको शिक्षक । म तिनका दलीय संस्कृतिसँग परिचित छु । तर हेर्दै जाँदा तिनमा एउटा प्रतिरोधी क्षमता ह्रास हुँदै गएको देखियो । जब संविधान बन्ने क्रममा समस्या देखिए, त्यो बेला यस्तो प्रतिरोधी वर्गको आवश्यकता थियो । पछि अनेकौं समस्या परे, त्यसमा विद्यार्थीको प्रतिरोधी क्षमता तिनले मानेको दलले निर्णय गर्न थाल्यो । अहिलेको अवस्था अत्यन्त वाचाल छ ।
पत्रिकाहरूले लेख्दैछन्, गृहमन्त्रीको नेतृत्वको टोलीले भन्दैछ पेट्रोलमा कालोबजारी भएकै हो । यो हास्यास्पद मात्र होइन, डरलाग्दो समाचार पनि हो । अहिलेको कालोबजारी, सिन्डिकेट र कार्टेलले देशलाई खर्लप्प खाएको अवस्थामा प्रतिरोधी शक्तिहरूको आवश्यकता छ । त्यस्तो स्वतन्त्र प्रतिरोधी शक्ति विद्यार्थी र अरू बुद्धिजीवीका समूहहरू नै हुनुपर्ने हो । तर त्यो प्रतिरोधी शक्ति दलीय संस्कृतिभित्र पसेर मौन हुनेतिर अभिमुख छ ।
प्रतिरोध वा रेजिस्टेन्स भनेर हिजोआज धेरै छलफल हुन्छ, सामाजिक र सांस्कृतिक अध्ययनमा । वर्ग, समाजका विशेष मानिस र समूहहरू त्यस्ता प्रतिरोधी हुन्छन् । ठूलो अर्थमा त्यस्तो प्रतिरोधी कर्म सामाजिक क्रान्ति हुनसक्छ । त्यसको आफ्नै आमवृत्त हुन्छ । त्यो आपैंmमा फराकिलो हुँदै जान्छ । नेपालमा मैले देखेको यथार्थ यस्तो छ । समाजका हरेक वर्ग र समूह, विद्यार्थी सबै पार्टीका सदस्य भएका हुनाले तिनले आफ्नो प्रतिरोधी क्षमता गुमाउँदै गएका छन् ।
प्रतिरोध पनि पार्टीको ह्विपअनुसार भएपछि त्यसको अर्थ हुँदैन । नेपालमा अहिले त्यही हुँदै गएको छ । यो एउटा नोक्सानीको अवस्था हो । आफ्नो दलको वृत्त फराकिलो गर्न सबैलाई पार्टीका चारआने बनाउने संस्कृतिले गर्दा अहिले जताततै लज्जास्पद क्रियाकलाप, ब्ल्याक मार्केट, लुकिछिपी नाफाखोरी र धन सञ्चय भएका अवस्थाको विरोध गर्ने समूह र नागरिकको पनि अन्त्य हुँदै गएको देखिँंदै छ । आफ्नो शक्तिको खेलमा पर्दा दलहरूले भेटेजति सबै दलका चारआने बनाउने अभ्यास गरे । नेपालमा सामाजिक प्रतिरोधको विस्तारै अन्त्य हुँदै गएको छ । मधेसी आन्दोलनमा त्यो प्रतिरोधी तत्त्व देखियो, तर विस्तारै त्यो पनि सर्वपरिचित मोडतिर अवतरण हुनलागेको अवस्था देखिँंदैछ ।
नेपाली काङ्ग्रेसको महाधिवेशनको अवस्थामा यी कुरामा सोच्नु सान्दर्भिक छ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका प्रणेताहरूले अरू दलहरूभन्दा अगाडि र शक्तिशाली भएर काम गर्दा यो अवस्थाको कसरी कल्पना गरेका थिए रु बीपी कोइरालाले अदालतको ऐतिहासिक बयानमा जोडदिएको कुराको सार यस्तो थियो– म सर्वसाधारण मानिसलाई वाचाल बनाउन चाहन्छु । उसको शिर उच्च हुनुपर्छ, किनभने उसको इज्जत नै सबैभन्दा ठूलो विषय हो । उनको सपना र भनाइको सार थियो, स्वतन्त्र मानिस आफ्नो निर्णय गर्न सक्छ । राजनीतिक दलले त्यसको रक्षाको वातावरणनिम्ति काम गर्नुपर्छ । आज हामीलाई यत्ति कुरा सम्झनु उपयुक्त हुन्छ ।
दलीय संस्कृतिको मूलतत्त्व स्वतन्त्र मानिसको सिर्जना गर्नु हो । त्यो मानिसको सिर्जना भएपछि मात्र समाज बलियो हुन्छ, अनि त्यसले नै राज्यलाई कुनै दल वा वर्ग वा नवसामन्ती दलदलमा फँस्नबाट जोगाउन सक्छ । नेपाली काङ्ग्रेसको महाधिवेशनको अर्थ मेरानिम्ति पार्टीको विषय होइन, मेरो चाख यसको इतिहास हो । मेरो चाख यस दलका आज पनि विचार अनुकरणीय भएका बीपी कोइरालाजस्ता नेतामाथि भएर पनि हो । अब मलाई यो प्रश्नको उत्तर खोज्ने चिन्ता लागेको छ । त्यो कडी युवानेताहरूसँग छ कि वृद्धहरूका विचारमा नै निहित छ रु उत्तर सरल छैन । महाधिवेशनको शुभकामना । स्वतन्त्र र बलियो मानिसको नैरन्तर्य कायम रहोस् ।साभारःकान्तिपुर दैनिक