नेपाली कांग्रेसमा पार्टी सभापतिपछि दोस्रो शक्तिशाली पद मानिन्छ, निर्वाचित महामन्त्री । महामन्त्री भएपछि स्वाभाविक पार्टी संगठनमा प्रभाव विस्तार गर्ने आधार बन्न सक्छ, अर्थात् भविष्यमा पार्टी नेतृत्वको निम्ति ढोका खुलाउने आधार निर्माण गर्छ । त्यही कारण त्यो पदको आकर्षण बढेको हो । त्यो पद प्राप्तिका निम्ति तीन नेता चुनावी मैदानमा होमिएका छन्, डा। शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापा । थापा अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यको खुला चुनावी प्रतिस्पर्धामा सर्वाधिक मत पाएर विजयी भएका थिए । केसी दोस्रो नम्बरमा थिए भने कोइराला चौथो नम्बरमा । कोइराला संस्थापन पक्ष, केसी देउवा प्यानल र थापा भर्खरै निर्मित महामन्त्री कृष्ण सिटौला पक्षबाट मैदानमा छन् । केसी ५० वर्षदेखि राजनीतिमा सक्रिय छन् भने कोइराला चिकित्सा पेसाबाट डेढ दशकअघि राजनीतिमा होमिएका हुन् । थापा लोकतान्त्रिक आन्दोलनसँगै चर्चाको शिखरमा स्थापित भएका पात्र हुन् । महामन्त्रीका तीन आकांक्षीहरुसँग उनीहरुका एजेन्डा र रणनीतिका विषयमा बिहीबार बिहान कान्तिपुरका हरिबहादुर थापा, कुलचन्द्र न्यौपाने र चन्द्रशेखर अधिकारीले गरेको कुराकानी ः
कार्यकर्ताको समर्थन र मायाबाट आएको टिम होः अर्जुननरसिंह केसी
आफ्नो धारै परिवर्तन गरेर महामन्त्रीमा उम्मेदवारी दिने सोच कसरी आयो ?
कांग्रेसमा स्थायी रूपमा जुन विभाजन रेखा छ, त्यो तोड्न आवश्यक छ । पार्टीभित्र रहेर काम गरिरहँदा त्यहाँ केही पदाधिकारी सानो सिन्डिकेटमा बसेर काम गर्ने व्यवहार भयो । पार्टी पदाधिकारीको सानो समूहले चलाउन थाल्यो । पदाधिकारी नै पार्टीको रूपमा अघि बढ्यो । त्यसले पार्टीलाई संस्थागत रूपमा अघि बढाउन सकेन । युवा क्रियाशील हुन सकेनन् । विधान अनुरुपको कार्यसम्पादन समिति बनेन । मैले असन्तुष्टि निरन्तर जाहेर गरेको हुँ । शेरबहादुरजीले विभाजन तोड्न सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता गरेको हुनाले हामी एकैस्थानमा उभिएका हौं । धार परिवर्तन भन्दा पनि पार्टीभित्र लोकतान्त्रिक विधि र परिवर्तन आत्मसाथ गर्न खोजिएको हो ।
तपार्इंको धार परिवर्तनको उम्मेदवारीले ध्रुवीकरणलाई अन्त्य गर्छ र ?
त्यो सन्देश दिनकै लागि नै म उठेको हुँ । यो विभाजनको मानसिकता अन्त्य गर्नैपर्छ । पार्टीलाई एकीकृत गरेर निष्पक्ष, पारदर्शी, विधिसम्मत र संस्थागत ढंगले अघि बढाउनुपर्छ । यही दृष्टिकोण सबल र प्रबल बनाउन मैले शेरबहादुरजीसँग मिलेर अघि बढेको हुँ । यो आवश्यक पनि छ । यसलाई धार परिवर्तन भन्न पनि मिल्दैन ।
तपाईंको जित्ने आधार के छन् ?
पार्टी सुरुदेखि नै नीतिमुखी हुनसकेन, नेतामुखी भयो । संस्थागत रूपमा पार्टीलाई अघि बढाउन सकिएन । झुन्ड—झुन्डको रूपमा यो अघि बढेको कारणले पनि यसलाई पारदर्शी, विधिसम्मत र संस्थागत रूपमा परिवर्तन गर्न मैले महामन्त्रीको उम्मेदवारी दिएको हुँ । परिवर्तन र लोकतान्त्रिक विकासका लागि यो आवश्यक छ । पार्टीलाई एकताबद्ध बनाएर लैजान नै मेरो उम्मेदवारी हो । पार्टीको सामु धेरै ठूला चुनौती छन् । एकातिर सम्पूर्ण वामशक्ति एक स्थानमा भएर सरकारमा रहेको अवस्था छ । त्यो परिवेशमा नेपाली कांग्रेसभित्र मधेस–तराई लगायतलाई एकीकृत गरी ‘ब्रोडर अम्ब्रेला’भित्र लोकतान्त्रिक मोर्चा तयार गर्नुपर्ने आवस्था छ । संविधानमा देखिएका अपूर्णतालाई पूर्णता दिन पनि यो प्रयास भएको हो । मैले अघिल्लोपल्ट नै महामन्त्रीको उम्मेदवारी दिएर फिर्ता लिएको थिएँ । त्यो दाबी गर्नु स्वाभाविक हक हो ।
कांग्रेस भित्रको आन्तरिक खिचातानी, कलह र गुटले गर्दा वामपन्थी तथा अन्य शक्तिहरू एकजुट हुने अवस्था आएको भन्न खोज्नुभएको हो ?
निश्चित रूपमा । हाम्रो विभाजन पनि एउटा कारक हो । त्यसलाई नीतिगत रूपबाट सञ्चालन, नेतृत्व तथा परिचालन गर्नुपर्ने कमीलाई हामी पूर्णता दिन सक्छौं । शेरबहादुरजीमा जुन प्रकारको लचकता र संयोजन प्रदर्शन गर्ने क्षमता छ, त्यो अहिलेको आवश्यकता पनि हो । कांग्रेसले पार्टीलाई अघि बढाउन त्यो प्रकारको लचकता आवश्यक पनि छ । देउवाजी र मेरो गठबन्धनको यो समूहले नै कांग्रेसलाई माथि लैजान सक्नेछ भन्ने मेरो विश्वास पनि हो ।
अब पार्टीलाई युवा पुस्तामा लैजान आवश्यक छ, होइन र ?
युवा पुस्तालाई विस्तारै स्थानान्तरण र रूपान्तरण गर्दै नेतृत्व सुम्पिने विषयमा कुनै विवाद नै होइन । १२ औं महाधिवेशनमा धेरै युवाहरूले आफ्नो क्षमता देखाइसक्नुभएको छ । यो पार्टीलाई संस्थागत र नीतिसम्मत ढंगले अघि बढाएको खण्डमा मात्रै उहाँहरूको भविष्य पार्टीमा सुनिश्चित हुन्छ । अन्यथा सानो घेरामा पार्टी चल्ने हो भने त्यो त्यति सहज छैन । त्यसकै लागिमात्र हामी एक भएर अघि बढेका हौं । यसमा हामी चिन्तित भएर लागेका छौं । होनाहार र प्रभावकारी युवाहरू नेतृत्व पंक्तिमा नै हुनुहुन्छ ।
युवा पुस्तालाई ग्रुमिङ गर्दै लैजानपर्ने होइन र ?
हो, यो प्रक्रियामा हामी छौं । अझै पनि बाँकी छ । सानो रूपमा होइन, ब्रोडर रूपमा ल्याउन खोजेका छौं । सानो सिन्डिकेटको परिक्रमा गरेर नै युवा पुस्ता अघि बढ्न सकिन्छ भन्ने सोचको अन्त्य गर्दै प्रतिस्पर्धामा पार्टीलाई अघि बढाउन लागिएको हो । पार्टीभित्र धेरै स्थान छ, युवाहरूका लागि । त्यसलाई नै आधार बनाएर काम गर्नेछौं । मिहेनत गर्ने र काम गर्ने युवाहरूलाई अघि बढाउन हामीले विभिन्न पक्षबाट सोधिरहेका हौं ।
युवाहरूबीच प्रतिस्पर्धाको माहोल सिर्जना गर्ने भन्न खोज्नुभएको हो ?
हो । मिहेनत नगर्ने र सानो समूहको घेरामा परिक्रममा गर्नेहरूले मात्र अवसर पाउने प्रथा अन्त्य गर्न आवश्यक छ । यो महाधिवेशनपछि यो प्रक्रिया पनि त्यही अनुरुप आउँछ । यसको आधार पनि तय गर्न लागिपरेका छौं ।
पार्टीमा नेतृत्वको लागिमात्र महाधिवेशन हुँदैछ भन्ने आभास भएको छ, नीति तथा कार्यक्रमको विषयमा कुनै वैचारिक छलफल भएजस्तो देखिँदैन नि ?
यो आंशिक दृष्टिकोणले यो सत्य हो । एउटा नीति तथा कार्यक्रम र अर्को नेतृत्व चयनको अधिवेशन छुट्टै अधिवेशन गर्नुपर्ने आवश्यकता हो कि भन्ने पनि छ । नेतृत्व चयनपछि छिट्टै महासमिति बोलाएर नीति तथा कार्यक्रमका लागि काम गर्नुपर्ने अवस्था छ । अहिलेसम्मको उपलब्धि देखिएका कमी—कमजोरी र अब लिनुपर्ने भावी नीति र कार्यक्रम गम्भीर सोचेका छौं र प्रारूप तयार पनि देखिएको छ ।
पदाधिकारी बढाउन नसकेका कारण केही समयपछि महासमिति बोलाउनुपरेको हो ?
होइन । चुनावको मुखमा पदाधिकारी बढाउन सक्ने अवस्था नै छैन । किनकि हामी तलदेखि नै परिवर्तन गरेर आउनुपर्ने अवस्थामा माथिमात्र मिलाएर हुँदैन । हामी पिरामिड आधारमा चल्ने हो । त्यो संरचनाको लागि तलदेखि नै मिलाएर अघि बढाउन आवश्यक छ । वैचारिक बहस पनि गरेर त्यसलाई त्यही ढंगले अघि बढाउनुपर्ने हुन्छ । संगठन तल फैलिएपछि नै माथि नेतृत्व हुने हो । गाउँ, नगर, क्षेत्र, जिल्लाका अधिवेशन समाप्त गरिसकेपछि केन्द्रीयस्तरमा पदाधिकारी बढाउन उचित थिएन । मनोनीत पदाधिकारी बढाउनु
पनि राम्रो होइन । थप्नुपर्दा पनि कार्यविभाजन सहित निश्चित वैज्ञानिक तवरले अघि बढाउन आवश्यक छ ।
आफ्नै ज्वाईंसँग एकै पदमा प्रतिस्पर्धा गर्नुपर्दा कति असजिलो महसुस हुँदोरहेछ ?
केही असहजता त छ । भावनात्मक दृष्टिकोणले महाअसहजता छ । मैले श्रीमती, छोरी–ज्वाइँको मर्म बुझेको छु । लोकतान्त्रिक संस्कृति बोकेको परिवारमा हामी पर्छौं । मेरो परिवारभित्र यसलाई सहज रूपमा लिएर जानुपर्छ । मैले अपर्झट लिएको निर्णय होइन । उहाँ (गगन) लाई मैले भनेकै थिएँ । उहाँले के सोचेर निर्णय लिनुभयो, त्यो उहाँलाई नै जानकारी होला । म योभन्दा बढी टिप्पणी गर्न सक्दिन । निश्चित यात्रामा अगाडि बढेपछि अल्मलिने र पछि हट्ने कुरा हुँदैन । सहज त होइन, तर सहज रूपमा लिनुपर्ने बाध्यात्मक अवस्था आएको छ ।
टिम घोषणा गर्न ढिलाइ गर्नुको कारण ?
शेरबहादुरजीको टिममा कुनै समस्या थिएन । म महामन्त्री, उहाँ सभापति उठ्ने विषय स्पष्ट थियो । यो विषयमा विवाद थिएन । त्यो बाहेक सहमति गरेर जान सकिन्छ कि भनेर लगातार प्रयासहरू भएको हो । त्यो असम्भव भएपछि हामीले आज नै टिम घोषणा गरेका हौं । हाम्रो टिम सबल र सक्षम छ । कसैको आशिर्वाद र लिगेसीबाट भन्दा पनि कार्यकर्ताको साथ, समर्थन र मायाबाट आएको टिम हो ।
विदेशीको आशिर्वाद र सद्भाव कतातिर र कस्तो छ ?
नेपालको राजनीतिमा केही हुन नसक्ने बित्तिकै हल्ला जोड्ने परम्परा नै बनेको छ । यो पनि हल्ला हो । नेपाली कांग्रेस पुरानो राजनीतिक दल त्यो पनि पूर्ण प्रजातन्त्रका लागि संघर्ष गरेको दल हुनाले सबैको साथ र समर्थन हुनु स्वाभाविक हो । तर जुन सुकै विषयमा पनि दक्षिणी भारतसँग जोड्ने संस्कार बसाल्नु गलत हो । हामी सबैलाई उनीहरूको सद्भाव रहेको छ । त्योभन्दा बढी केही भएजस्तो लाग्दैन ।
व्यक्तिवादी प्रवृत्तिले पार्टी धराशायी हुन्छः शशांक कोइराला
तपाईं पहिलोपटक पार्टी पदाधिकारीमा उम्मेदवारी दिँंदै हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
मैले निरन्तर कांग्रेसका ३र४ वटा महाधिवेशन नजिकबाट हेरेको छु । महाधिवेशन स्वाभाविक रूपमा उत्साहको पर्व हो । हुन त सुशीलदा’को निधनले नेतृत्वमा एक खालको रिक्तता ल्याएको छ । तैपनि हामी उत्साहमा रूपान्तरण गर्न चाहिरहेका छौं । महाधिवेशन भन्नसाथ नीति, नेतृत्व र संगठनका सवाल आउँछन् । तीनवटा विषयमा केन्द्रित भएर पार्टीको १३ औं महाधिवेशन अघि बढ्दैछ । यतिबेला मलाई मात्रै होइन, आम कांग्रेसजन र मुलुकबासीमा उत्साह छ ।
महाधिवेशनको प्राथमिकता त नीतिमा हुनुपर्ने होइन र ?
हो, सबैभन्दा पहिला हुनुपर्ने नै विचार हो । विचार नभई नेतृत्व र संगठनले मात्रै पार्टीलाई जीवन्त बनाउन सकिँदैन । विचारपछि मात्रै संगठन आउँछ । संगठनले नीति बनाउँछ । नीतिलाई लागु गर्न नेतृत्व आउँछ । प्राथमिकताका हिसाबले सबैभन्दा माथि विचार हुन्छ । विचार सम्प्रेषण गर्न, जनतामा लगेर कार्यान्वयन गर्न साधन चाहियो । त्यो साधन भनेको संगठन हो । हामी विचार र लक्ष्यमा रहेर संगठित हुन आवश्यक छ ।
तर १३ औं महाधिवेशन विचारभन्दा पनि नेतृत्व चुन्ने प्रक्रियामा मात्रै सीमित देखिँदैछ ?
यो दुर्भाग्यपूर्ण अवस्था हो । महाधिवेशनमा एक खालको हतारो पनि हाम्रो परम्परा बनेको छ । तर हामी विचारबाट पृथक छैनौं । विचारबाट जुन दिन अलग हुन्छ, त्यतिबेला पार्टी भन्ने रहँदैन ।
कांग्रेस नेतृत्वले नीति र विचारलाई खासै प्राथमिकता दिन नखोजेको जस्तो देखियो नि ?
तपाईंले उठाएको विषयमा म सहमत छु । तर परिस्थितिले हामीलाई अर्कैतिर डोर्यायो । मुख्य प्राथमिकता संविधान निर्माण गर्ने थियो । हाम्रो ध्यान त्यतातिर गयो । परिस्थितिले हामीले सोचेजस्तो महाधिवेशन नीति र विचारमा केन्द्रित हुन नसकेको पक्कै हो । पार्टीको संरचना नयाँ संविधानअनुरुप लैजानुपर्ने आवश्यकता छ । त्यसका लागि महासमितिको बैठक बोलाउनुपर्छ भनेको पनि थिएँ । तर समयले भ्याइएन । अब महाधिवेशनपछि महासमितिको बैठक बोलाएर नीति, संगठन र विचारबारे परामर्श गर्न आवश्यक छ ।
तपाईं बीपीको परिवारको हुनुहुन्छ । तपार्इंले नेतृत्वमा पुगेपछि कांग्रेसलाई कस्तो बनाउँछु भन्ने संकल्प लिनुभएको छ ?
बीपी भन्ने बित्तिकै विचार हो । अर्को संघर्ष हो । जनताको अधिकारका लागि बीपीले जीवनभर संघर्ष गर्नुभयो । बीपीको पालामा समावेशी शव्द हुन्थेन । तर कार्यमा उहाँले समावेशी चरित्रको पार्टी बनाउनुभयो । सरकारको नेतृत्व लिंँदा पनि समावेशी बनाउनुभयो । त्यसबेलाको परिस्थितिलाई कल्पना गर्नुहोस् त, बीपीले कस्तो समावेशी समाज बनाउन खोज्नुभएको थियो । यतिखेर त संविधानले सुनिश्चित गरेको छ । त्यतिबेला न संविधानमा थियो, नत त्यस्तो आवाज नै थियो । बीपीले त्यतिबेला जे चाहनुभएको थियो, नेपाल अहिले त्यही चाहनाअनुसार अघि बढिरहेको छ । बीपीले देखाएको समाजवादी बाटोलाई अघि बढाउने मेरो संकल्प हो ।
तपाईं महामन्त्रीको उम्मेदवार हुँदै गर्दा कांग्रेसलाई कस्तो बनाउने एजेन्डा ल्याउनुभएको छ ?
संविधान कार्यान्वयन मुख्य चुनौती हो । संविधान कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा सबैभन्दा पहिला हाम्रो पार्टीभित्र नीति तर्जुमा हुनुपर्छ । संगठन एक हुनुपर्छ । संगठन अलि कमजोर देखिएको छ । बीपीले नेपाल भनेको गाउँ हो, राजनीति, विकास, शिक्षा, स्वास्थ्य, जागृति सबै गाउँमा हुनुपर्छ भन्नुहुन्थ्यो । युवा वर्गको विदेश पलायनसँगै विकराल स्थिति उत्पन्न भएको छ । यसले रेमिट्यान्स बढाएको होला, तर सामाजिक अस्थिरता पनि भित्रिएको छ । यसलाई सम्बोधन गर्ने कार्यक्रम हाम्रो हुनुपर्छ ।
निर्वाचनका बेला चुनाव जित्न तपाईं छुट्टै एजेन्डा पनि बनाउँदै हुनुहुन्छ कि ?
साढे पाँच वर्षमा १३ औं महाधिवेशन हुनलागिरहेको छ । यतिबेला सबै प्रतिनिधिले म स्वतन्त्र छु भनेर अनुभूति गर्न सक्नुपर्यो । मत हाल्दा हरेक प्रतिनिधिले नैतिकता, विचारलाई सोच्नुपर्यो । अनि मेरो भविष्य कहाँनेर जोडिएको छ भनेर सोच्नुपर्यो । यही सोचेर जसलाई मतदान गरे पनि हुन्छ । यो त पार्टीको आन्तरिक प्रतिस्पर्धा र प्रक्रिया हो । यसमा रणनीति खेल्नभन्दा पनि हरेक कार्यकर्ता स्वतन्त्र हुनसके राम्रो हुन्छ । कार्यकर्ताहरूले अधिकारको प्रयोग गर्दा आफ्नो भविष्यको ख्याल गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।
आम कार्यकर्ताको भावना त पार्टी एक हुनसकेन भन्ने छ, तपाईं एक बनाउन सक्नुहुन्छ ?
हो, पार्टीभित्र दुई पक्ष देखिएको छ । एउटा विचारमा विमति हुन्छ । त्यो ठिक छ । अमेरिकाजस्तो ठाउँमा पनि दुइटा विचार हुन्छ । चुनावका बेला ग्रुपिजम पनि हुन्छ । तर विचारको विमतिमा एउटा पक्ष समात्नुहुन्छ भने त्यसलाई स्वाभाविक मान्नुपर्छ । तर व्यक्तिवादी प्रवृत्तिमा जाने हो भने पार्टी धराशायी हुन्छ । आफ्नै जीवनमा भोगिसकेका छौं । ६० र ४० को भागबन्डा अन्त्य हुनुपर्छ । १३ औं महाधिवेशनले भागबन्डाको राजनीति, व्यक्तिवादी चरित्रको अन्त्य गर्नुपर्छ । तुष, घृणा र अहंबाट राजनीति अघि बढ्नहुन्न । यसले पार्टीलाई कमजोर बनाउँछ । नैतिकताका आधारमा अघि बढ्न सक्नुपर्छ ।
तपार्इं महामन्त्री हुनुभयो भने भागबन्डाको अन्त्य कसरी के माध्यमबाट गर्नुहुन्छ ?
गाउँबाट नै सुरु गर्नुपर्छ । हुन त यो भागबन्डा केन्द्रबाट सुरु भयो । निराकरण पनि १३ औं महाधिवेशनको नतिजाले केही हदसम्म गर्ला । तर भागबन्डाको विभाजन गाउँसम्म पुगेको छ । पहिला संगठनमा सबैलाई आबद्ध गर्नुपर्छ । पार्टीको विचार, मूल्यांकन र अवसरबाट यो भागबन्डाको अन्त्य गर्न सक्छौं । आउँदो चार वर्ष हामीले आम कार्यकर्तालाई कार्यक्रम दिनुपर्छ । प्रशिक्षण सुरु गर्नुपर्छ । मेरो मान्छे र तेरो मान्छे भनेर हेर्नुहुन्न । क्रियाशील र क्षमताका आधारमा मूल्यांकन गर्नुपर्छ । पार्टीको अभिलेख गाउँदेखि नै सुरु गर्नुपर्छ । यो भयो भने भागबन्डा अन्त्य हुन्छ ।
संस्थापन पक्षबाटै अर्को प्यानल मैदानमा छ, यसले तपाईंलाई कतिको अप्ठ्यारो पारेको छ ?
अलिकति पनि अप्ठ्यारो लागेको छैन, प्यानल स्वाभाविक छ । यसलाई अप्ठ्यारो मैले मानेको छैन ।
संस्थापन पक्ष एकठाउँमा किन आउन सकेन ?
मैले मिलाउन धेरै प्रयास गरेँ । पार्टीभित्र लामो समयदेखि व्यक्तिगत विचार हावी भएको छ । जादुको छडीजस्तै त्यसलाई मेटाउन सकिन्न । भागबन्डा पहिल्यैदेखि थियो । तर राजनीतिक नैतिकता राम्रो थियो । ६० र ४० को सुरक्षित घेराभित्र बस्न मनपराउन थालिएको छ । यो दुर्भाग्य हो । यो घेराबाट बाहिर आउनुपर्छ । आज हेर्नुहोस्, कोइरालाहरू एकठाउँमा रहे भन्ने सन्देश गएको छ । हाम्रा बीचमा पनि मतभिन्नता अवश्य थिए होलान् । तर एक भएको सन्देश हामीले दिएका छौं । लामो समयदेखि आएको तुष र अहं छ । यसलाई समाप्त गर्नुपर्छ ।
तपाईंको जित्ने आधार के–के हुन् ?
जित्ने भनेको ३ हजार १ सय मतदाताको निर्णयमा निर्भर छ । आम मतदातालाई मत हाल्दा स्वतन्त्र भएको अनुभूति हामीले दिन सक्नुपर्छ । नैतिकता र निष्ठालाई हेर्नुपर्छ । पार्टीलाई कसरी अघि बढाउने भन्ने मेरो आफ्नै एजेन्डा र खाका छ । कार्यकर्ता र मतदाताहरूलाई भेटेर पनि भनिरहेको छु । मैले जित्नैपर्छ र हार्दा समाप्त भइन्छ भन्ने दृष्टिले पनि हेरेको छैन । धरोहरको निरन्तरता एकठाउँमा हुन्छ । विचारको नेतृत्व अर्को ठाउँमा हुन्छ । नेपाललाई समृद्ध बनाउन, बीपीको विचारलाई अघि बढाउन पनि कार्यकर्ताहरूले मलाई अघि बढाउँछन् भन्ने लाग्छ ।
चुनौती के–के छन् ?
व्यक्तिगत चुनौती केही छैन । चुनौती राष्ट्रलाई अघि बढाउने, संविधानको कार्यान्वयन गर्ने नै हो । संगठन एक बनाउने चुनौती छ । त्यसलाई काँधमा बोकेर म अघि बढ्न तयार छु ।
गुटबन्दी तोड्न मेरो उम्मेदवारीः गगन थापा
संस्थापन र शेरबहादुर देउवाबाट बलियो प्यानल चुनावी मैदानमा रहँदारहँदै तेस्रो टिम पनि आएको छ, प्रतिस्पर्धा कति कठिन छ ?
नेपाली कांग्रेसभित्र चार या पाँच वर्षमा महाधिवेशन हुन्छ । महाधिवेशनको अवधिभन्दाबाहेकको समयमा स्थायी गुटबन्दी रहन्छ । सबै कार्यकर्तालाई सोध्नुस्, उत्तर आउँछ सधैं गुटबन्दी र भागबन्डामा पार्टी चलेकै कारण कांग्रेस कमजोर भएको हो । कार्यकर्ताहरूले ठाउँ पाएको खण्डमा गुट भत्काउँछन् । सर्वोच्च तहदेखि नै पार्टी संरचनामा हाबी भएको गुटगत महत्त्वाकांक्षा र त्यसले निम्त्याएका यावत् विकृति अब हाम्रा लागि स्वीकार्य हुनु हुन्न । महाधिवेशन स्थायी गुटबन्दी भत्काउने चाहना राख्नेहरूका निम्ति यो अवसर हो । मौलिक र सिर्जनात्मक विचारका अभावमा गुटतन्त्र फस्टाएको छ । त्यसले अलोकतान्त्रिक नेतृत्वशैली निर्माण गरेको छ । त्यही पृष्ठभूमिमा पार्टीमा विचारको विकासलाई उत्प्रेरित गर्ने बौद्धिक जमातमा वितृष्णा गहिरिएर जाने खतरा छ । त्यो चिर्नकै निम्ति कठिन प्रतिस्पर्धामा उत्रनुपरेको हो ।
तपाईंहरूको प्यानलसहितको उम्मेदवारी तेस्रो गुटबन्दी सिर्जना गर्दैन र ?
गुटभन्दा पनि यसलाई समूहभन्दा राम्रो होला । मैले धेरै अघिदेखि पहिलो पुस्ताका तीनै जना नेताले अब विश्राम लिनुपर्छ र दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ भन्दै आएको हुँ । दोस्रो पुस्ताका सबै नेतालाई भेटेर ‘तपाईंहरू सभापति पदमा प्रतिस्पर्धा गर्न अग्रसर हुनुस्, हाम्रो पुस्ता महामन्त्री पदमा प्रतिस्पर्धा गर्छ’ भनेर आग्रह गरेको हुँ । सिटौला दाइ अगाडि आउनु भएपछि र हाम्रो पुस्ताबाट अरू कोही अग्रसर नभएपछि म अघि सरेर यो समूहको निर्माण भएको हो । त्यसैले यो वर्षौंदेखिको स्थायी गुट होइन, परिस्थितिले निर्माण गरेको चौतारी हो । धेरैजसो विषयलाई हेर्ने सन्दर्भमा हाम्रा वैचारिक भिन्नताहरू छन्, त्यही कारण यो कुनै गुट होइन । मेरो मूलभूत उद्देश्य नै गुटगत भागबन्डासहित पार्टीमा मौलाएका विकृति तथा विसंगति अन्त्य गर्नु हो ।
तपाईंहरूको समूहलाई संस्थापनभित्रको दोस्रो समूह भन्न मिल्ने कि नमिल्ने ?
कांग्रेस एक भइसकेपछि यो संस्थापन वा अर्को संस्थापन होइन भन्न पाइन्न । देउवाले जित्नुभएको खण्डमा के उहाँलाई संस्थापन होइन भन्ने रु आफूले जित्नुपर्छ भन्न पाइन्छ, तर अर्कोले जितेको खण्डमा कसैले स्विकार्नसमेत अड हुने गरी अभिव्यक्ति दिनु लोकतान्त्रिक संस्कार होइन । अर्को समूहले जित्दा पार्टी बर्बाद गर्छ, डुबाउँछ भन्नु हुन्न । कुनै परिस्थितिमा पार्टी फुट्यो, एकीकरण भयो अब त्यो तुस मेटिनुपर्छ । संस्थापन र पृथक् भन्ने लाइसेन्स कसले दियो रु कुन दरबारबाट त्यस्तो लाइसेन्स जारी हुन्छ रु यो विषय सोचनीय छ ।
एकै पदमा पारिवारिक व्यक्तिहरू प्रतिस्पर्धामा हुँदा सकस हुन्न र ?
अर्जुननरसिंह केसी मेरो बुबाको नाता जोडिनुभन्दा अघिदेखि मैले अत्यन्त आदर गर्ने नेता हुनुहुन्छ । मैले समकालीन राजनीतिमा नेताका रूपमा स्नेह, माया र संरक्षण पनि उहाँबाट नै पाएको छु । म उहाँको मेहनतको प्रशंसक पनि हुँ । कुनै अवसर नपाउँदा पनि डटेर नै पार्टीमा काम गरिरहने अथक योद्धा र विचारक हुनुहुन्छ । त्यसमाथि पनि घरभित्रको सबैभन्दा नजिकको नाता हो । राजनीतिक जीवनको कठोर निर्णयमा म छु । यो निर्णय लिन सजिलो थिएन । तर यतिखेर म आफ्नो लडाइँमा छु र उहाँ आफ्नै लडाइँमा हुनुहुन्छ ।
यो जोखिम मैले मोलिन भने नेपाली कांग्रेसभित्र मात्र होइन, नेपालका आम युवाप्रति नै मेरो कर्तव्य पालना नभएको हुन्छ ।
तर दुवै नेता आफ्नो मेहनतबाटै स्थापित भएका हुन्, तर यसरी प्रतिस्पर्धा हुँदा कार्यकर्तामा वितृष्णा आउँदैन र ?
मेरो यो निर्णय फगत राजनीतिक महत्त्वाकांक्षाको कारणले भएको भन्नु ममाथि ठूलो अन्याय हुन्छ । मेरो पुस्ताले निर्णय गर्ने चेष्टा नगर्ने हो भने हाम्रो पुस्तामा ठूलो वितृष्णा आउँछ । यसमा कसैले हिम्मत नगर्दा म अघि बढ्नुपरेको हो । आम कांग्रेसजन दाजुभाइ दिदीबहिनीबाट निरन्तर पाएको विश्वास र समर्थनका कारण यो आँट गर्नु मेरो नैतिक दायित्व पनि हो । त्यसैले मैले उम्मेदवारी दिएँ । मलाई विश्वास छ, पार्टी साथीहरूले नियतिले मलाई सुम्पेको यो नैतिक दायित्व बुझेर विगतमा झैं माया र विश्वास दिनु हुनेछ ।
तपाईंको उम्मेदवारी केका लागि ?
संविधानका लागि गर्ने हाम्रा अग्रजले गरेको भूमिका अब्बल छ । अग्रज पुस्ताको अथक परिश्रम र संघर्षले पार्टीले लोकतन्त्रका ठूला–ठूला लडाइँ जितेको छ । संघर्षकालमा उहाँहरूले गरेको बलिदान र योगदानको हामी सविनय गहिरो सम्मान गर्छौं । तर अब मुलुक संविधान निर्माणपछि समृद्धि निर्माणको अत्यन्त महत्त्वपूर्ण तर कठिन चरणमा प्रवेश गरेको छ । अब हाम्रो पुस्ता आफ्नै जीवनकालमा सबै नेपाली सम्पन्न र सम्मानित जीवनयापन गर्न पाउने समुन्नत नेपालमा बसेको हेर्न चाहन्छ । नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्र देशले सही बाटो समात्छ, अन्यथा फेरि पनि यो गोलचक्करको अभिसाप समाप्त हुने छैन । हामी समृद्घ नेपाल निर्माणको अभियन्ता बन्न चाहन्छौं । अग्रजहरूले अभिभावक भएर नयाँ पुस्तालाई नेतृत्व दिन आवश्यक छ । ‘कन्स्ट्रकटिभ’ रूपमा अघि बढ्न आवश्यक छ । राजनीतिको पूर्ण संरचना परिवर्तन गर्न आवश्यक छ । काम गर्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ । मेरो उम्मेदवारी यो र यस्तै परिवर्तनका लागि हो । नेतृत्वमा तहका पुराना सोचको स्वाभाविक बहिर्गमन र नयाँ सोचका मानिसको आगमन नहुने हो भने विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीमा परिणत हुन्छ । म पार्टीलाई अविरल बग्ने नदी बनाउन चाहन्छु ।
यो महाधिवेशनमा पनि त नीतिभन्दा पनि नेतृत्वमा नै युवा पुस्ताको जोड देखिन्छ, फरक के नै रह्यो र ?
हामीले केही युवा साथीहरूसँग मिलेर दस्तावेज प्रस्तुत गरेका छौं । हाम्रा सिद्धान्तको समयानुकूल परिमार्जन र त्यसरी पुनर्जागृत भएको कांग्रेसलाई बोक्ने पुनर्गठित संगठनको हाम्रो प्रस्तावमाथि महाधिवेशनमा छलफल चलाउने छौं । हामीले पार्टी रूपान्तरणको केही ठोस प्रस्ताव गरेका छौं । उदाहरणका लागि पार्टीमा यस्तो भयो, उस्तो भयो भन्छौं । तर जरामा जाने हो भने कार्यकर्तामा आधारित भएको पार्टीबाट फेरि आम जनतामा आधारित पार्टी बन्नु आवश्यक छ । सबै कांग्रेसजनले स्वामित्व लिने परिस्थितिको सिर्जना गर्नुपर्छ । साधारण सदस्यलाई पूर्ण रूपमा पार्टीभित्र शक्तिहीन र महत्त्वहीन बनाइएको छ भने क्रियाशील सदस्यता क्याडर–बेस्ड कम्युनिस्ट पार्टीकै जस्तो बनाइएको छ । जसले कांग्रेस सही अर्थमा मास–बेस्ड पार्टी हुन सकेको छैन । यो पुरानो परम्परागत शैली परिवर्तन आवश्यक छ । यस्ता अनेकन पक्षमा हामीले सुविचारित प्रस्ताव सारेका छौं ।
कांग्रेसमा युवाहरू किन समेटिएन त ?
पार्टीमा युवा जमातले काम गर्ने स्थान र अवसर पाएनन् । हाम्रै उमेरको हुँदा नै हाम्रा नेताहरूले काम गर्ने अवसर प्राप्ति भएको हो । अर्थात्, त्यो बेलाका नेताले युवाहरूलाई पत्याएका रहेछन् । तर यतिखेर पत्याएनन् । ४० वर्षमुनिका ६२ प्रतिशत छन्, तर युवा पुस्ता नेतृत्वमा पुग्ने देखिँदैन । मुलुकमा १८ देखि ४० वर्षका मतदाताको जनसंख्या ६० प्रतिशत छ । तिनको न्यायोचित प्रतिनिधित्व भएमात्र कांग्रेसप्रतिको आकर्षण र विश्वास कायम हुन्छ । नेतृत्वमा युवा विचार र प्रतिनिधित्व विषयमा उपेक्षा गरिनु हुँदैन ।
राजनीतिको गम्भीर मोडमा उभिएको जस्तो लाग्दैन ?
यो गम्भीर होइन, मेरो राजनीतिक जीवनको रोमाञ्चक मोड हो । मैले नेपाली कांग्रेसमा हाम्रो पुस्ताबाट अघि बढ्न आवश्यक छ भनेर भनें । मलाई अघि बढाउनु हुने हाम्रो पुस्ताको कोही अगाडि सर्नुभएको भए म सघाउन लाग्ने थिएँ । तर कसैले पनि आँट नगर्दा म अघि बढेको हुँ । महाधिवेशन सकेर बाहिर निस्कँदा सबै पुरानै नेताहरू स्थापित भएको दृश्य युवा पुस्ताका निम्ति रुचिकर नहुन सक्छ । त्यहाँ रूप दिन उम्मेदवारी दिन बाध्य भएको हुँ । देशभरबाट आउनुभएका साथीहरूले यो तथ्य बुझेर साथ दिनु हुनेमा म विश्वस्त छु । अब कांग्रेसले स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन निर्वाचनमा होमिनुपर्ने छ । त्यतिखेर मत माग्न हामी जानैपर्ने हुन्छ । कांग्रेस महामन्त्री मत माग्न आउने अवस्था बनाउने कि एउटा साधारण सदस्य आएको छ भन्ने बनाउने भन्ने विषय सबै कांग्रेसजनले बुझ्नु हुनेछ । ऐतिहासिक संविधान निर्माणपछिको विशिष्ट परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको पूर्वसन्ध्यामा म महामन्त्री पदको दाबीका साथ विनम्रतापूर्वक अगाडि आएको छु ।
विदेशीसँगको साँठगाँठले समूह बनेको र सहयोग गर्न समूह बनेको आरोप पनि छ ?
मैले प्रस्टसँग हाम्रो भूमिमा कुनै पनि विदेशी शक्तिले व्यक्ति, दल र दलका पनि गुटपिच्छे डिलिङ गर्ने, हस्तक्षेप गर्न अगाडि सर्ने परम्परालाई सदाका लागि बन्द गर्नुपर्छ भन्ने विषय उठाउँदै आएको सबैलाई जानकारी छ । हाम्रो देशका धेरै समस्याको जडमा यही प्रवृत्ति जिम्मेवार छ र म यसको विरुद्धमा छु र सधैं रहिरहनेछु । म यसरी लडिरहनेलाई महाधिवेशनको पूर्वसन्ध्यामा तीर्थाटन गर्न जानेहरूले त्यस्तो आरोप लगाउनु हास्यास्पद छ । यहाँ आफूले भनेजस्तो भएन भने, कहीं कतै कुरा बाझियो भने आरोप लगाउने र कतै न कतै जोडिदिने प्रवृत्ति छ । म आफ्नो ब्रह्मले देखेको कुरा गर्ने हो । राष्ट्रका निम्ति जीवन समर्पित गरेको छु, मेरो जीवन र मेरा निर्णयहरू सबै खुला किताबजस्तो छ र रहिरहनेछ ।साभारःकान्तिपुर