फागुन १९,भक्तपुर– आगामी चैत्र २० गते हुने नेपाल बार एशोसियसनको निर्वाचनका लागि नेपाल मजदूर किसान पार्टी निकट कानून अध्ययन समाज नेपालले आज उम्मेदवारी घोषणा गरेको छ ।
समाजले भक्तपुरको रफत संचार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गरेको हो ।
बार एशोसियसनको निर्वाचनमा समाजका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापति अध्यक्षमा, नरहरीनाथ योगी(बाँके) महासचिवमा र सदस्यहरुमा मदन श्रेष्ठ(काठमाण्डौ), शिवराज दाहाल(दैलेख) ले उम्मेदवारी दिने भएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष प्रजापतिले विगत लामो समयदेखि प्रजातान्त्रिक समूह र प्रगतिशील समूहले पालैपालो नेपाल बारको नेतृत्व गरेपनि बारलाई प्राज्ञिक थलो बनाउनुको सट्टा भागवण्डाको थलो बनाएको आरोप लगाए ।
केन्द्रदेखि जिल्लासम्म विदेशी दातृ निकायबाट प्राप्त बजेटमा समेत भागवण्डा गर्ने, अपारदर्शी ढंगले बजेट सिध्याउने र नियुक्तिमा समेत पक्षपात हुने गरेको आरोप लगाउँदै उनले बारलाई निष्पक्ष, पारदर्शी बनाउँदै कानून व्यवसायीको क्षमता अभिबृद्धि गर्न आफूहरुको उम्मेदवारी रहेको बताए ।