फागुन १२, काठमाडौं– भूकम्प र भारतले केही अघिसम्म लगाएको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र नराम्रोसंग खस्केका बेला नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी ८५ प्रतिशत घटेको छ।
सरकारले विदेशी लवगानी भित्र्याउन अनेकौं प्रोत्साहन दिँदै आए पनि चालु आर्थिक वर्षको सुरुदेखि नै मुलुकमा व्यवसायीक वातावरण बन्न नसक्दा वैदेशिक लगानी आउन नसकेको हो।
मुलुकभित्र आउने प्रत्यक्ष वैदेशिक लगानीका उद्योगलार्इ स्वीकृति दिने जिम्मेवार निकाय उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ६ अर्ब ३० करोड रुपैयाँ बराबर मात्र बैदेशिक लगानी भित्रिएको छ। गत वर्ष पुससम्म ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको थियो। चालु आर्थिक वर्षलाई अघिल्लो वर्षसंग तुलना गर्दा प्रत्यक्ष वैदेशिक लगानी ८५ प्रतिशतले घटेको देखिन्छ। (नागरिक दैनिकबाट)