फागुन ६, काठमाडौँ– ‘मै बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषको आज राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ ।
थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १४३०००१९८००१ नम्बरको खाता खोलेको हो ।
खातामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनामा पाउने पारिश्रमिक रु ६१ हजार ८२० जम्मा भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले सबैभन्दा पहिल रकम जम्मा गरेका छन् ।
मंगलबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्पको औपचारिक रुपमा प्रधानमन्त्री ओलीले सुरुवात गरेका थिए ।
सोही कार्यक्रममै धरहरा निर्माण जनताको खर्चबाट बनाउने उद्घोष गर्दै धरहराको पुनःनिर्माणका लागि आफूले एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए ।