फागुन २, काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कर्मचारीलाई अनुहार हेरेर नभई क्षमता हेरेर कामको मूल्यांकन गर्ने बताएका छन्।
ललितपुरमा लगानी बोर्डको आयोजनामा सुरु भएको पाँच दिने तालिमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले कर्मचारीहरुलाई विकास निर्माणका काममा क्षमता प्रदर्शन गरेर देखाउन आग्रह गरे ।
ओलीले राजनीतिक नियुक्ति लिने व्यक्तिहरुले काममा भन्दा सुविधामा बढी ध्यान दिने गरेको भन्दै आफू कर्मचारीबाटै काम सम्पादन गराउनुपर्ने पक्षमा रहेको बताए।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले माथिल्लो कर्णाली र अरुण तेस्रो दुवै आयोजनाको कार्यान्वयनका लागि सहयोग गर्न सम्बन्धित जिल्लाका सांसद्हरुसँग आग्रह गरे। उनले आयोजनाबाट सम्बन्धित जिल्लावासी नै बढी लाभान्वित हुने भन्दै यस विषयमा सांसद्हरुले विरोधमा रहेका दलका नेता र स्थानीयवासीलाई बुझाउनुपर्ने बताए।
कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले विकास निर्माणको कामलाई तिब्रता दिनका लागि फास्ट ट्रयाकबाट काम गर्न सरकारले कानूनहरु संशोधनको प्रक्रिया अगाडि बढाएको बताए। उनले वातावरणीय प्रभाव मूल्यांकन ढिलामा ३९ दिनमा सक्ने गरी नियमावली परिमार्जनको काम अन्तिम चरणमा पुर्याइएको जानकारी पनि दिए।
लगानी बोर्डले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यान्यनका लागि आयोजनासँग सम्बन्धित चार वटा जिल्लाका सम्बन्धित अधिकारीलाई तालिम दिन सुरु गरेको हो। लगानी बोर्डले सुर्खेत, दैलेख, अछाम र संखुवासभाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायतका २० जना कर्मचारीलाई तालिम दिन सुरु गरेको हो।
लगानी बोर्डले गत वर्षको असोजको पहिलो साता माथिल्लो कर्णाली जलविद्युत आयोजनाको तथा गत वर्षकै मंसिरको पहिलो साता अरुण तेस्रो जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता ९पीडीए० गरेको थियो। ९÷९ सय मेगावाट क्षमताका दुवै आयोजना बनाउने जिम्मा भारतीय कम्पनीले पाएका छन्।
भारतीय कम्पनीसँग पीडीए भएको एक वर्ष नाघिसके पनि केही राजनीतिक दलले पीडीएको विरोध गर्दै आएको सन्दर्भमा लगानी बोर्डले आयोजनासँग सम्बन्धित जिल्लाका सांसद् समेतको उपस्थितिमा जिल्लाको नेतृत्व तहमा रहेका कर्मचारीलाई तालिम दिएको हो।