माघ ११, काठमाडौ– उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको प्रमुख माग संविधान संशोधनबाट पुरा भएको भन्दै बाँकी मागको विषयमा छलफल गर्न छिट्टै बार्तामा बोलाउने बताएका छन ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मोर्चाले सुरुमा उठाएको माग संसोधनबाट हुबहु पुरा भईसकेको छ । आउने दिनमा अरु माग समाधान गर्न पनि सरकार तत्पर छ भन्ने सन्देश दिएको छ । बन्द, हडताल, हिसात्मक गतिविधी र अरु दललाई निषेध गर्ने कार्य बन्द गरेर सार्थक बार्तामा आउनुस सरकार बार्ताबाट समस्या समाधान गर्न तयार छ ।’
उपप्रधानमन्त्री रावलले मोर्चाका अरु मागको विषयमा कार्यदल, शिर्ष तहमा औपचारिक अनौपचारिक रुपमा नेपालको हितमा सहमति गर्न तयार रहेको स्पष्ट पार्दै सरकारले छिट्टै मधेसी मोर्चांलाई बार्ताको लागि बोलाउने जानकारी दिए ।
उनले सीमांकन बाहेकका अरु विषयमा मधेसी मोर्चासँग सहमतिको निकट रहेपनि सीमांकन गर्दा मधेसमा यति प्रदेश बनाउनु पर्ने भन्ने अडानका कारण सहमति हुन नसकेको भन्दै समानुपातिक र निर्वाचन क्षेत्र निर्धारण सकारात्मक भए अरु विषयमा कुरागर्न सजिलो हुन्छ भनेकोले आफूहरुले संसोधन प्रक्रिया निष्कर्समा पुर्याएको बताए ।
उपप्रधानमन्त्री रावलले नागरिकताको सवालमा अंगिकृत नागरिकता नपाउने भनेर कुप्रचार गरेर जनता भड्काउन खोजेको आरोप लगाउँदै नेपाली नागरिक सँग विवाह गर्ने विदेशी महिलाले अंगिकृत नागरिकता पाउने ब्यवस्था स्पष्ट रहेको बताए ।
सीमांकनको सवालमा भने उनले राजनीतिक संयन्त्रको निष्कर्सको आधारमा राजनीतिक सहमतिमा सीमांकन गर्न तयार रहेको भन्दै अहिले नै यति वा त्यती प्रदेश भनेर लेख्न नसकिने स्पष्ट पारे ।
उपप्रधानमन्त्री रावलले संविधान संसोधनबाट अन्तर्राष्ट्रिय समूदायले नेपाली नेताहरु जनताको भावना बुझेर संविधान सुधार्न तयार छन भन्ने महसुस गरेको भन्दै नेपालको राष्ट्रिय हित चाहनेहरुले यसलाई सकारात्मक रुपमा लिने विश्वास ब्यक्त गरे ।
उपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै छिमेकी मित्र राष्ट्रहरु भारत र चीनको भ्रमणको तयारी भईरहेको भन्दै उपयूक्त समयमा भ्रमण हुने बताए ।