माघ १०, काठमाडौ – देशका लागि प्राण त्याग गर्ने सहिदको सम्झनामा आइतबारदेखि सहिद सप्ताह मनाउन सुरु भएको छ।
सरकारले सहिदहरुको सम्मानमा हरेक वर्ष मनाउँदै आएको सहिद सप्ताह यस वर्ष पनि मनाउन लागेको हो। माघ १० देखि माघ १६ गतेसम्म मनाइँदै आएको सहिद सप्ताहका अबसरमा काठमाडौ महानगरपालिकाको संयोजकत्वमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ ।
सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो।
राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्बत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो। उनीहरुलाई निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानका क्रममा मृत्युदण्डको सजाय दिइएको थियो।
महानगरपालिकाका अनुसार सहिद शुक्रराज शास्त्रीलाई पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते र १५ गते गगांलाल श्रेष्ठ तथा दशरथ चन्दको शालिकमा रहेको शोभा भगवती पुगेर श्रद्धाजंलि दिने कार्यक्रम रहेको छ ।
माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकका लागि प्राण त्याग्ने सम्पूर्ण सहिदहरुको सम्झना गरिनेछ। माघ १६ गते रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरमा रहेको सहिद स्मारकमा गएर टुंगिने कार्यक्रम रहेको छ।