राष्ट्रियता र राष्ट्रिय स्वाधिनता रक्षा गर्न सरकार सफलः उप्रधानमन्त्री मैनाली

माघ ६, काठमाडौँ– उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा सरकार सफल भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले नाकाबन्दी र मधेस समस्या पुरानै सरकारको उत्तरदायित्वको रुपमा अहिले आएकोले यसलाई लिएर सरकारको काम कारवाहीको मुल्याकंन गर्न नमिल्ने भन्दै सरकार अहिलेका समस्या समाधानमा सहि दिशामा प्रयत्न अगाडि बढाइरहेको बताए ।
उपप्रधानमन्त्री मैनालीले भने,‘ विगतमा हामीले ब्यापार र पारवहनमा एक मुखे हुँदाको शिक्षा लिएनौ । सरकारले भारतसँग सम्बन्ध नर्मल गर्दै ब्यापार विविधीकरण गर्छौ । राष्ट्रियताको सवालमा घुडा टेकेनौ, आपूर्ति सहज बनाउन लागेका छौ । ’
उनले सय दिनमा सयमा केही कमजोरी भएको स्विकार्दै कालाबजारी र मुनाफाखोरीलाई नियन्त्रण गर्न नसकेको बताए । उपप्रधानमन्त्री मैनालीले पेट्रोलियम पदार्थको बाहिर समाचार आए जस्तो अपाूर्ति बढी भए पनि सहज नहुनु अपराधीकरण भएको भन्दै मुनाफाखोरी लाई दण्डित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले  सरकार हरेक क्षेत्रमा असफल प्रमाणित भईसकेको भन्दै सरकारले आफ्नो काम प्रभावकारी ढंगले अगाडि नबढाए आफै ढल्ने चेतावनी दिए ।
उनले काँग्रेसलाई अहिले सरकार ढाल्ने फुर्सद नभएको भन्दै पार्टीको महाधिवेशन, भुकम्पको पुर्ननिर्माण, अघोषित नाकाबन्दी र मधेसको समाधान गर्नु पर्ने बेला भएकोले काग्रेस सरकार ढाल्न भने नलाग्ने स्पष्ट पारे ।
रिजालले भने,‘ जनताले सरकारको कामप्रति निराशा प्रकट गर्न थालिसकेका छन । प्रधानमन्त्री आफै आफ्नो खिसिटिउरी गर्दैछन । यस्तो हो भने सरकार ढल्ने दिन टाढा छैन । तर काग्रेस अहिले सरकार ढाल्न तिर लाग्दैन ।’
मधेसको समस्या समाधानमा नेकपा एमालेसँग कुरा नमिलेकोले अलग भएको भन्दै प्रधानमन्त्री पद उखान टुक्क गर्ने नभई कम गर्ने पद भएकोले अहिले मजाक नगरी काम गर्ने बेला भएको स्मरण गराए ।
नेकपा एमाले स्थायी समितिका सदस्य शंकर पोख्रेलले मधेस आन्दोलन, भारतको नाकाबन्दीले उत्पन्न गरेको समस्या अघिल्लो सरकारको विरासतको रुपमा यो सरकारलाई आएको भन्दै संविधान जलाउने र च्यात्नेहरु संविधानको प्रक्रियामा आउनु यो सरकारको उपलब्धि भएको दावी गरे ।
उनले काँग्रेसले मुलुकको समस्या समाधान आफ्नो नेतृत्वमा समेत हुन नसक्ने देखेर यो सरकारको विकल्प नखोजेको दावी गर्दै भारतको नाकाबन्दीबाट नझुकेको कारण भारत अहिले आफ्नो नेपाल नीतिमा पुनरावलोकन गर्ने तहमा पुगेकोले त्यो पनि सरकारको उपलब्धि भएको बताए ।
पोख्रेलले भने,‘ भारत आफ्नो विदेश नीति रिभ्यू गर्ने तहमा पुग्यो यो सरकारको प्रयत्नको नतिजा हो । भारतसँगको निर्भरता हटाउन चीनीय समर्थन प्राप्त रेको छ । केही समयमा सम्झौता हुन्छ यो दिर्घकालिन महत्वको कुरा हो । संविधानमा रहेको भ्रम हट्दै अहिले सीमांकनमा आएर केन्द्रीत भएको छ यो सरकारको उपलब्धि हो । नाकाबन्दी गराएर झुकाउन खोज्नेहारु आफै झुके यो असाधारण उपलब्धि हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले जनताको पक्षमा काम गर्न वर्तमान सरकार चुकेको जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई समयमै संवेदनशील भएर सम्हालिन सुझाव दिए ।
उनले भने,‘ प्रधानमन्त्रीजी समयमै संवेदनशील भएर सम्हालिनुस नभए गंभिर भुल हुन्छ । यत्रो हुँदा न प्रमुख प्रतिपक्षी नेपाली काग्रेस बोलेको छ न संसद बोलेको छ ।  अहिलेको अवस्था उदार संविधान भ्रष्ट प्रजातन्त्र भएको छ । ’
लोहनीले तेल भण्डारन बढी भएको समाचार आईराख्दा समेत जनतालाई लाईन लगाउने अवस्थाले कालाबजारी गराउन अभाव सृजना गरिएको अशंका उत्पन्न भएको भन्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरे ।
उनले आधार विना प्रधानमन्त्रीले बोलेकोले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने र घर घरमा ग्यासको पाईप पुर्याउने कुरालाई उडाएको भन्दै प्रधानमन्त्रीले बोल्दा कुनै योजना विना बोल्न नहुने सुझाव दिए ।
नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले यस्तो भ्रष्ट र नाकारा सरकार नेपालको इतिहासमा कहिल्यै नभएको भन्दै अहिलेसम्म एउटै पनि राम्रो काम गर्न नसकेको दावी गरे ।
उनले भने,‘ जनतालाई कष्ट नेपालको इतिहासमै यति धेरै कहिल्यै भएन । भ्रष्टाचार यो भन्दा बढेको कहिल्यै थिएन । प्रधानमन्त्री नचाहिने कुरा गर्न सक्छन तर विश्व बजारअनुसार पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिशत घट्नुपर्ने घटाउँदैनन । क्याविनेट के हेरेर बसेको छ ?’