मंसिर २३ , बनेपा – भूकम्पबाट जमिनको धाँजा फाटेको र भूक्षय हुने काभ्रेपलाञ्चोकका सम्भावित विभिन्न स्थानमा बाँस रोपिने भएको छ ।
वन दशक कार्यक्रमअन्तर्गत सरकारले त्यसका लागि रु २० लाख बजेट विनियोजन गरेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो । जेठको अन्तिम साताबाट सुरु हुने बाँस रोप्ने कार्यक्रम भूकम्पबाट क्षतिग्रस्त भएको जमिनको पुनरुत्थानका लागि भएको उल्लेख गर्दै खनालले जिल्लामा सङ्कटग्रस्त क्षेत्र पहिचान गर्न प्राविधिकहरु परिचालन भइसकेको बताउनुभयो ।
“यसको उद्देश्य माटो अस्थिर नहोस् र भूक्षय हुन नदिने तथा पहिरो रोक्ने हो”, उहाँले भन्नुभयो । बाँसको विभिन्न जातको खोजी हुने र निजी क्षेत्रबाट खरिद गरेर बाँस रोपिने जानकारी दिँदै अधिकृत खनालले जमिनलाई संरक्षण गर्न सरकारले यो कार्यक्रम ल्याएको बताउनुभयो । रासस