कार्तिक २४, काठमाडौँ – यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाईंदै छ ।
भैरवको वाहन मानिएको कुकुरको घरघरमा पूजा गरी मीठो खानेकुरा खुवाउने चलन छ । कुकुरलाई यमराजको दूतका रुपमा पनि पुज्ने गरिन्छ । यमराज स्वयम्ले कुकुरको भेषमा पाँच पाण्डवसँग स्वर्गको यात्रा गरेको कथन पुराणहरुमा उल्लेख छ ।
यो कथनले महाभारतकालीन युगमा समेत कुकुरको विशिष्ट महत्व रहेको पुष्टि हुन्छ । मानवको सुरक्षामा सधैं खटिने कुकुरलाई भरपर्दो र विश्वासिलो घरपालुवा जनावर मानिन्छ ।
यमपञ्चकको तेस्रो दिन बुधबार विहान गाईको पूजा गरेर साँझ दीपावलीका साथ लक्ष्मीको पूजा गरिन्छ । चौथो दिन गोबद्र्धन पूजा गरिन्छ । झिलिमिलि बत्ती र देउसी–भैलो खेल्ने कारणले पनि तिहारको रौनक छुट्टै रहेको छ ।
दाजुभाई र दिदीबहिनीबीचको पवित्र सम्बन्धको सांस्कृतिक चाड भएकाले पनि तिहारको महत्व अरु बढेको छ । पाँचौ तथा अन्तिम दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई पूजा गरी भाइटीका मनाउँछन् ।