कार्तिक २२, काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकमा देखिएको सबै खालका समस्या समाधानका लागि राष्ट्र र राष्ट्रियताप्रति गम्भीर भएर काम गर्न सरकारलाई सुझाव दिएका छन ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका पौडेलले आन्दोलनमा रहेका मधेस केन्द्रित दललाई संसद्बाटै सबै खाले समस्याको समाधान खोज्न आग्रह गरे ।
मुलुकमा देखिएका समस्यालाई अतिरञ्जित गर्ने र उल्झाउने तर्फ उद्दत नभई समस्या घटाउन सरकार जिम्मेवार नभई आलटाल मात्र गर्नेतर्फ लागिरहेको आरोप उपसभापति पौडेलले लगाए ।
नेता पौडेलले प्रधानमन्त्रीले कुनै दल विशेषको व्यक्तिको जस्तो व्यवहार र भूमिका निर्वाह गर्न नहुने धारणा राखे । उनले भूकम्प प्राधिकरणसम्बन्धी विधेयक र अघिल्लो सरकारले संविधान संशोधन गर्ने सम्बन्धमा ल्याएको विधेयकलाई अघि बढाउन सरकारको ध्यानाकर्षण पनि गराएका छन ।