कार्तिक २०,पथरी (मोरङ)- सभासद् एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एमालेसँगको सहमति तोड्नु नेपाली काँग्रेसको इतिहासमै अक्षम्य भुलका रुपमा रहने बताउनुभएको छ ।
मोरङको राजघाटमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान कार्यान्वयन नभएसम्म सहमति तोड्न नहुने बताउनुभयो ।
संविधानलाई मूलधारमा ल्याएरमात्र पक्ष प्रतिपक्षको राजनीति गर्नुपर्ने धारणा राख्दै उहाँले मिलेर संविधानको कार्यान्वयमा लाग्ने बेला एमालेसँगको सहमति गलत समयमा तोडिएको उल्लेख गर्नुभयो । गठबन्धन तोडेकै कारण मुलुक गहिरो सङ्कटमा पुगेको भन्दै नेत्री कोइरालाले तीन शीर्ष नेताले अब सल्लाहकार भएर बस्नुपर्ने बताउनुभयो ।
उहाँहरूको पद लोलुपताले नै पार्टीसमेत अप्ठ्यारोमा परेको कोइरालाको भनाइ थियो । पटक पटक पार्टीको महाधिवेशन सारेर नेतृत्वले कार्यकर्तालाई समेत धोका दिएको नेत्री कोइरालाको आरोप थियो । रासस