असोज १८, काठमाडौं – जर्मन लिग बुन्डेजलिगामा बार्यन म्युनिखले बलियो टोली बोरुसिया डर्टमुन्डमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा रोबर्ट लेभान्डोस्कीले शानदार गोलस्कोरिङलाई कायमै राख्दा बार्यन म्युनिखले डर्टमुन्डमाथि ५–१ गोल अन्तरको जित हात पारेको हो ।
खेलमा बार्यनले २६ औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । ३५ औं मिनेटमा पेनाल्टी गोल मार्फत मुलरले नै अग्रता दोब्बर पारे ।
तर, त्यसको एक मिनेटपछि नै ओबामुयाङले गोल गर्दै बोरुसिया डर्टमुन्डलाई खेलमा फर्काउने संकेत दिए । दोस्रो हाफमा लेभान्डोस्की खेलमा छाए । खेलको ४६ औं मिनेटमा उनले गोल गरे ।
५८ औं मिनेटमा लेभान्डोस्कीले दोस्रो गोल गरे । खेलको ६६ औं मिनेटमा मारियो गोट्जेले गोल गर्दै बार्यनलाई ५–१ को जित दिलाए ।
जितपछि बार्यन म्युनिखले ७ अंकको प्रष्ट अग्रता लिएको छ । बार्यन ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डको १७ अंक छ ।