भदौ २६, काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छन् ।उनले भनिन्-अब संविधान बन्यो निश्चित हुनुस्, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ । सबै दिपावली गर्न तयार भएर बस्नुस् ।’
तराईमा भइरहेको आन्दोलनलाई साम्प्रदायिक दंगातर्फ लान खोजिएको भन्दै उनले जनताको शान्ति सुरक्षाको लागि परिचालन गरिएकालेे सेना परिचालन फिर्ता नहुने बताइन् ।रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भण्डारीले भनिन्-उपचार गर्न लगिएकोलाई मार्ने, पार्टी कार्यालयमा आगजनी गर्ने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने ? शान्ति सुरक्षाका लागि सुरक्षा परिचालन ठिक हो ।’एमाले , काग्रेस र एमाओवादीले मधेसको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरा हास्यास्पद भएको भन्दै प्रश्न गरिन-‘एमालेको यादव यादव नहुने, उनीहरुका यादव यादव नै रहने ?’
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आन्दोलनरत पक्षहरु वार्तामा आउनै पर्ने बताए ।वार्तामा आएपछि सेना ब्यारेक फर्किने भन्दै उनले भने-‘बाहिर बसेर माग पुरा हुँदैन । मधेस आतंककारीको स्वर्ग बन्न थाले समस्या आउँछ । वार्ताको विकल्प छैन ।’ उनले ईच्छा शक्ति भए २४ घण्टा समय पनि समस्या समाधानको लागि धेरै भएको बताए ।
मधेस आन्दोलनमा राज्यले पनि दमन गरेको दावी गर्दै कांग्रेस नेता केसीले घुडामाथि गोली लाग्नु राज्य आतंक भएकोले त्यसको राज्यले जिम्मेवारी लिनु पर्ने र मधेसमा भइरहेका हिंसाको मधेसी मोर्चाले दाियत्व लिनु पर्ने बताए ।एमाओवादीका नेता अग्नि सापकोटाले संविधानसभा लामो समयसम्म स्थगन गर्दा देशलाई फाईदा नपुग्ने भन्दै ४८ घण्टाको समयमा धेरै गर्न सक्ने तर्क गरे । मधेसको माग प्रष्ट नभएकोे भन्दै उनले भने-सप्तरीदेखि पर्सासम्म मधेसको पहिचान स्थापित भएको छ । थारुहरुको क्लस्टर क्षत विक्षत पारिएको छ, उनीहरुको माग सम्बोधन गर्न शीर्ष नेताहरु तयार हुनुपर्छ ।’