भदौ २५,काठमाडौं – आफ्नो माग पुरा गराउन दिनहु जसो देशका विभिन्न ठाउँमा राजनितिक वा अन्य समूह संगठनबाट हुने गरेका बन्दका कारण विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार कुण्ठीत भएको भन्दै विद्यालयलाई बन्द मुक्त बनाउने प्रयास स्वरुप राजधानिमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ । दशकौदेखि शिक्षाको क्षेत्रमा खोज तथा अनुसन्धान मुलक कार्यक्रम गर्दै आएको ह्याप्पी किड्स फाउण्डेशन र नुवागी शैक्षिक मासिक पत्रिकाको संयुक्त आयोजनामा शनिबार विहान ८ः३० बजे रिपोटर्स क्लवमा सो कार्यक्रम हुन लागेको हो ।
बाल दिवसको अवसर पारि अस्थिर राजनीतिक अवस्थाले विद्यालय क्षेत्रमा परेको असर र समाधानका लागि प्रयास गर्ने तथा विद्यालय शान्ति क्षेत्रलाई व्यवहारमा लागू गर्न दबाब दिने उद्देश्यले गर्न लागिएको सो अन्तरक्रियामा विभिन्न विद्यालयका प्रअ, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरकारी निकायका पदाधिकारीहरू रहने छन् ।
विद्यालयलाई पूर्ण रुपमा बन्द मुक्त गराउने राष्ट्रिय अभियानका निम्ति साझा ऐक्यवद्धता निर्माण गर्न हस्ताक्षर संकलन समेत गरिने आयोजक ह्याप्पी किड्स फाउन्डेसनका निर्देशक अभिषेक घिमिरेले बताए । ‘पछिल्लो समयमा राजनितिक कारण देशको कुनै न कुनै भूभाग दिनँहु जसो बन्द हुने र त्यसको प्रत्यक्ष असर बालबालिकाको पठनपाठनमा परिरहेको छ ।’ उनले भने, ‘शान्त र सुरक्षित वातावरणमा अध्ययन गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो, विद्यालय जस्तो शान्ति क्षेत्रलाई भयरहित बनाउनको लागि यो कार्यक्रम गर्न लागेका हौं ।’
विद्यालयलाई बन्द मुक्त बनाउन राजधानीमा बृहत अन्तरक्रिया हुँदै
