असन्तुष्ट दलहरुलाई पनि समेटेर संविधान जारी गर्नोस् -राष्ट्रपति

असार २५,काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले संविधानको प्रारम्भिक मस्यौदाप्रति असहमति जनाउने दलहरुलाई पनि समेटेर संविधान जारी गर्न सुझाव दिएका छन् ।

राष्ट्रपति यादवले शुक्रबार चार दलका शीर्ष नेताहरुलाई शीतल निवासमा बोलाएर संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्दै असन्तुष्ट दलहरुलाई समेत मिलाएर संविधान जारी गर्न सुझाव दिएका हुन् ।

राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिकै कारण प्रारम्भिक मस्यौदा बनाउन दलहरु सफल भएकोमा प्रशंसा गर्दै उनले सबैको सहमतिबाटै संविधान जारी गर्न सुझाव दिएका हुन् ।

राष्ट्रपतिसँगको परामर्शपछि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले ‘जनताको राय–सुझावलाई समेटेर सहमतिको संविधान जारी गर्न’ सुझाव दिएको जानकारी दिए ।

राष्ट्रपति यादवले संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा जनताको राय–सुझाव संकलनका लागि पठाउने निर्णय गरेकालाई अत्यन्तै सकारात्मक भएको बताएका थिए ।

त्यसक्रममा शीर्ष चार नेताहरुले संविधानको प्रारम्भिक मस्यौदामा अझै परिमार्जन गरेर सबैलाई मान्य हुने परिस्कृत संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रपति यादवले भूकम्पपछि राजनीतिक दलहरुले राहत वितरण र पुनःस्र्थापनामा देखाएको अग्रसरताको प्रशंसा गर्दै मुलुक पुनःनिर्माणमा पनि एकजुट भएर आग्रह गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति यादवसँग भेटवार्ता गर्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार शीतल निवास पुगेका थिए ।