असार २४, काठमाडौं – संविधानको पहिलो प्रारम्भिक मस्यौदामा नागरिकको सुझाव संकलन गर्ने प्रक्रिया र कार्यविधि आज तय हुने भएको छ । संविधानको प्रारम्भिक मस्यौदाबारे संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज कार्यविधि संविधानसभामा पेश गर्नेछ । कार्यविधी पारित गरेपछि भोलिदेखि सुझाव संकलनको काम सुरु हुनेछ । साउन ७ भित्र सर्वसाधारणको सुझाव संकलन गर्ने कार्यादेश पाएको छ । समितिकी सभापति प्रमिला राणाले सुझाव संकलनको कार्यविधिसहितको कार्ययोजना तयार भइसकेको र आज संविधानसभामा पेश हुने बताउनुभयो । संविधानसभाको बैठक बिहान ११ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्नेछ । ७ साउनमा बस्ने संविधानसभा बैठकमा जनमतको प्रतिवेदन पेस गर्ने गरी कार्ययोजना बनाइएको छ । संविधानसभा सचिवालयले जनमत संकलनको सबै तयारी पूरा गरिसकेको जनाएको छ ।
संविधानसभाको बैठक बस्दै, मस्यौदामा नागरिकको सुझाव भोलिदेखि लिइने
