–राजेन्द्रप्रसाद न्यौपाने ‘प्रशान्त’
उमेरगत हिसाबले युवा र बुढा छुट्टयाउनु एउटा कुरा हो तर विचार, भावना र चेतनाको हिसावले युवा त्यो हो जो विचार र भावनामा स्पष्ट र चेतनाले विकसित भएको हुन्छ । विचार र भावनामा स्पष्टता र परिपक्कता आउने कुरोे र चेतना विकसित हुने कुरा उमेरले थोरै सम्बन्ध राख्दछ । कोही युवा विचार , भावना र चेतनाको कारणले बूढा हुन्छन भने कोही उमेरले बूढा भएर पनि युवा हुन्छन ।
ति युवा बूढा हुनु जो राम्रो विचार र शुभ भाव सिर्जना गर्न र चेतनामुलक चेतना अरुलाई दिन सक्दैनन र ति बूढा युवा हुन जो राम्रो विचार र शुभ भाव सिर्जना गर्न र चेतनामूलक चेतना अरुलाई दिन सक्दछन । जोस, जाँगर ,उत्साह , आशा , ज्ञान आदि जस्ता गुणहरु युवाका लक्षणहरु हुन भने उपरोक्त गुणहरुको अभाव हुनु बूढाका लक्षणहरु हुन । युवा बन्न चाहनेले अरु पनि विचार पु्याउनु पर्ने कुरा के छ भने आत्तिनु , मात्तिनु र पुल्पुलिनु पनि युवापन होइनु ।
त्यति मात्र होइन अरुको खुट्टामा टेकेर अरुले उत्तेजित गराएको भरमा उत्तेजित भएर र अरुको ज्यूधनमा प्रहार गर्नु आफु स्वयं नियतवस ज्यूज्यान लिएर सम्पत्ति थुपार्ने जस्ता कुकर्ममा संलग्न हुनु आफ्नो चेतनाले आफ्नो मन नियन्त्रणमा ल्याउन नसक्नु कदापि युवापनले भरिनु होईन बरु युवापनले रित्तिनु , खोक्रो र बोक्रो हुनु हो । वास्तवमा राम्रो विचार ,शुभ भाव , सुकर्म र युग चेतनाले भरिनु चाहि युवा हुनु हो ।
आज भोलि नराम्रा विचार र भावना बोकेका मानिस जताततै भेटिनु, चेतना स्तर खस्केको पाइनु , जोश र होश नहुनु , उत्साहविहिन र निराशाजनक मानिसहरुले सिर्जना गरेका नकारात्मक घटना र परिस्थिति बढदै जानुले धेरैमा बूढापन बढ्दै गएको देखिन्छ भने युवापन घट्दै गएको देखिन्छ । यसो हुनुको कारण समयले समयसँगै ल्याएको नयाँ समयलाई हेर्न सक्ने विचार , भावना , चेतना र दृष्टिकोण सहितको युवा निर्माण गर्ने योजनायुक्त कार्यक्रम, राम्रो शिक्षण र प्रशिक्षणको अभाव भएको हुनाले हो ।
आजका बालबालिका ,किशोरकिशोरी र जवान व्यक्तिहरुले जुन शिक्षा प्राप्त गरिरहेका छन् उक्त शिक्षाले आज र भोलिका लागि युवा निर्माण गरिरहेको छैन किन कि त्यो शिक्षाले मात्र युवा निर्माण गर्न सक्छ जुन शिक्षाले व्यक्तिलाई शारीरिक रुपमा स्वस्थ र सक्रिय , मानसिक रुपमा शान्त र स्थिर अनि आत्मिक स्तरमा आत्मवान् र महाचेतना युक्त बनाउन सहयोग र उत्प्रेरणा प्रदान गर्दछ ।
जीवनमा शरीर, मन र चेतनाको त्रिकोणात्मक सम्बन्धबारे सिकाउँछ । जीवन भनेको शरीर , मन र चेतनाको जोड हो भन्ने महसुस गराउँदछ । श्रम र विश्रामको सन्तुलन बारे ज्ञान दिने र विधिको अभ्यास गराउने गर्दछ । वर्तमान समयमा शिक्षा नीति परिवर्तन भएर कार्यान्वयन हुन समय लाग्ने भएकाले शिक्षार्थीहरुले प्रशिक्षणको माध्यमबाट भएपनि जीवनोपयोगी जीवन दर्शन , विज्ञान र कला योग्य प्रशिक्षकबाट लिएर सधैंका लागि युवा बन्न तयार हुनुपर्दछ ।
जसले वर्तमान शिक्षा प्राप्त गरिसके वा पूरा गरिसके, उनीहरुले पनि सधैंका लागि युवा बन्ने ज्ञान र विज्ञानको सहयोग लिनु अर्थपूर्ण र फलदायी हुने निश्चित छ ।
सारमा भन्नु पर्दा युवाले व्यक्ति , परिवार , समाज , राष्ट्र र विश्वलाई सपार्छ, बिगार्दैन । जो सपार्दैन र बिर्गाछ त्यो व्यक्ति युवा होइन । बिगार्ने र भत्काउने व्यक्ति त संसारकै लागि नकारात्मक शक्ति हो र संसारका लागि भार पनि । अतः युवा सकारात्मक शक्तिको स्रोत, इमान्दार,समझदार र जिम्मेवार बन्न सक्नु पर्दछ ।
[email protected]
(लेखक प्रेरणामूलक वक्ता एवं प्रशिक्षक हुनुहुन्छ ) साभार -motivatenews