संविधानसभामा कसले-के भने ?
जेष्ठ २९, कठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख ४ दलकाबीचमा भएको १६ बुँदे सहमतिले संविधानसभालाई ‘रबर स्ट्याम्प’ बनाएको आरोप लगाएका छन् ।
संविधानसभाअन्तर्गतको संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा शुक्रबार संविधानसभामा बोल्दै अध्यक्ष थापाले ‘१६ बुँदे सहमतिसँगै संविधानसभाको स्वामित्वको अपहरण भएको’ बताए ।
‘केही दलका केही नेताले संविधानसभालाई छलेर संविधानसभाभन्दा बाहिर संविधानका विषयमा सहमति गरेर संविधानसभालाई लाचार छाँया मात्रै बनाइएको’ उनले जिकिर गरे ।
‘संविधानसभाको निर्वाचन भएको १६ महिनामा हामी यस्तो घडीमा छौं, शासकीय स्वरुप, न्यायपालिका, निर्वाचन प्रणाली र राज्यको पुनःसंरचनालगायतका महत्वपूर्ण विषयमा छलफल गरिरहेका छौं । तर, यसलाई मौनरुपमा छाप पनि लगाइरहेका छौं । किनकि, यो छलफलको औपचारिकता मात्रै हो’–थापाको व्यंग्य थियो ।
‘९४ प्रतिशत जनता हिन्दूधर्म मान्ने रहेको भएपनि यसको पहिचानलाई नै समाप्त पार्ने गरी राखिएको धर्मनिरपेक्षतालाई जनताले नस्वीकार्ने’ थापाको तर्क छ ।
‘नेपालीको पहिचानको रुपमा रहेका हिन्दूधर्मलाई नेपाली जनताले कायम गरेरै छाड्ने’ थापाको भनाइ छ । ‘आफ्नो पार्टी निरंकुश राजतन्त्रको पक्षमा नभइ राजासहितको प्रजातन्त्रको पक्षमा रहेको’ स्पस्ट पार्दै थापाले राजतन्त्रको आवश्यकता हो कि होइन भन्नेमा समेत बहस नभएकोमा आपति जनाए ।
‘संघीयतालाई अपांग, अधुरोरुपमा प्रस्तुत गरेर अत्यन्तै खतरनाक काम गरिएको’ भन्दै उनले ‘संघीयताकै कारण अर्को दुर्घटना निम्तिन सक्ने’ चेतावनी पनि दिए ।
लिपुलेकबारे भारत र चीनको सम्झौता हुँदा पनि एक महिनासम्म सरकार बोल्न नसक्नु सरकारको लाचारीपन भएको आरोप थापाको छ ।
उत्तर दक्षिण संघीयता स्वीकार्य छैन : फोरम लोकतान्त्रिक
संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै फोरम लोकतान्त्रिकका सभासद जितेन्द्र देवले उत्तर दक्षिण चिरेर बनाइएको संघीयता स्वीकार्न नसकिने चेतावनी दिए । ८ प्रदेशमा भएको सहमतिलाई ध्यान दिँदै पहिचान र सामाथ्र्यका आधारमा प्रदेशको निर्माण गर्नुपर्ने उनले जोड दिए ।
‘आफूहरुसंँग दुई तिहाइ भएको भए मधेशका एजेन्डाअनुसार संविधान बनाउन सकिन्थ्यो । तर, आफूहरु सानो संख्यामा भएकाले सम्झौतामा जानुपरेको’ भन्दै उनले ‘तातै खाउँ जल्दै मरौं भन्ने अतिबादी सोचले केही नहुने’ तर्क गरे ।
राप्रपाद्धारा धर्मनिरपेक्षतमा जनमत संग्रह गर्न माग
संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता दीपक बोहोराले ‘बहुसंख्यक जनता हिन्दूधर्म मान्ने भएकोले यसको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्ने’ माग राखे ।
‘पशुपतिनाथको देशमा हिन्दूधर्मको विकल्प नरहेको भन्दै उनले भने–‘दोस्रो जनआन्दोलनका क्रममा धर्मनिरपेक्षताको माग नै उठेको थिएन, कसरी यस्तो भयो ?’
उपेन्द्र यादवलगायतले छलफलमा भाग लिएनन्
यसैबीच, उपेन्द्र यादव नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीले शुक्रबार संविधानसभाको बैठक बहिस्कार गरेका छन् ।
बहिस्कार गर्नुअघि ५ पार्टीका तर्फबाट बोल्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘तीन दलीय सिन्डिकेटले गरेको सहमति मान्न नसकिने’ चेतावनी दिए ।
‘संविधानका लागि नभइ सत्ता फेर्नका लागि सहमति भएको’ दाबी गर्दे यादवले भने–‘सत्ता स्वार्थको मानसिकताबाट ग्रसित भएर संविधानलाई सत्ता फेर्ने गोटी बनाइयो ।’
‘भूकम्पले पीडित भएका जनतालाई राहत दिनुको साटो यही मौकामा सत्ता फेर्नका लागि अनेकथरी सहमति गरिएको’ यादवको आरोप छ ।
‘बहुमतको बलमा ल्याएको संविधानले आदिवासी, जनजाति, दलित, अल्पसंख्यक र मजदुर, किसानको हित नहुने संविधान स्वीकार्य नहुने’ भन्दै ‘आफूहरु यो प्रक्रियाबाट बाहिरिने’ उनले चेतावनी दिए ।