जेठ ८,गौशाला- महोत्तरीको भ्रमरपुरा गाविसमा गएराति पूजामा विषाक्त प्रसाद खाँदा स्थानीय १५० जना सिकिस्त बिरामी भएका छन् ।
भ्रमरपुरा गाविस–५ का गोपाल शर्माबाट आयोजना गरिएको सत्यनारायणको पूजामा बनाइएको प्रसाद खाँदा स्थानीय सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पूजामा प्रसाद खाएको चार घण्टामै पूजा आयोजक शर्मा तथा स्थानीय महिला, पुरुष तथा बालबालिकामा फूड प्वाइजन भई उनीहरू सिकिस्त बिरामी भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
विषाक्त प्रसाद खाएर बिरामी भएकालाई झाडापखाला, पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने र रिङ्गटा लाग्नेजस्ता लक्षण देखिएको छ ।
गएराति करिब ११ बजेदेखि नै प्रसाद खाएका सिकिस्त बिरामी हुँदै गएपछि उनीहरूलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर तथा अन्य निजी क्लिनिकमा लगिएको छ ।