देश शोकमा भएको बेला उपेन्द्र यादवको घरमा आतिसबाजी, जन्तिका गाडी मिलाउन सास्ती

बैशाख २९,काठमाडौं – नियमकानुनको धज्जी उडाउँदै मधेसी जनअधिकार फोर नेपालका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रको विवाह आतिसबाजीसहित तडकभडकका साथ गरेका छन् । भूकम्पले देश संकटमा फसेका बेला उनले जन्ती भड्किलो बनाउन भारतबाट एक सय स्कोर्पियो र एक सजयति बोलेरो गाडी भाडामा झिकाए ।

पूर्वउपप्रधानमन्त्री यादवले आइतबार सप्तरी बथनाह १ का शशिकुमार र शोभा यादवकी छोरी मनीषालाई बुहारीका रुपमा भित्र्याएका हुन् । विराटनगर १२ हाटखोलास्थित दधिराम कम्प्लेक्स ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा विवाह भएको नयाँ पत्रिकामा खबर छ ।
जन्तिले आतिसबाजी गर्दै पटाका पड्काएका थिए । प्रशासनले दसैं, तिहार र छट पर्वका बेलामा समेत पटाका पड्काउन र आतिसबाजी गर्न रोक लगाएको छ । यादवको रवैया देखेर स्थानीयले सानालाई ऐन ठूलालाई चैन भन्दै आक्रोश पोखेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभु ढकालले जन्तीको लस्कर लामो भएकाले ट्राफिक व्यवस्थापन मिलाउन हस्मेहम्मे परेको बताए । प्रहरीले पटाका नपड्काउन आग्रह गर्दै पड्काउने तयारीमा रहेको केही पटाका नियन्त्रणमा पनि लिएका थिए ।