राष्ट्रिय सरकार बनाउन केपी ओलीको पहल

बैशाख २९,काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालालाई विस्थापित गरेर आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल तीव्र पारेका छन्। ओलीले सोमबार आफ्ना सहयोगी नेता विष्णु पौडेललाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न उनको निवास लाजिम्पाट पठाएका थिए।

स्रोतका अनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै पार्टीका सभापति कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहल बढाएको थाहा पाएपछि ओलीले पनि पहल तीव्र पारेका हुन्। एमाओवादीप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका ओली सरकारको नेतृत्व लिन पछिल्ला दिनमा नरम बन्दै गएको अन्नपूर्ण पोस्टमा खबर छ ।
एमाले उपमहासचिव विष्णु पौडेलले भने बाटो पर्दा एमाओवादी अध्यक्ष दाहालको निवासमा प्रवेश गरेको बताए। उनले अन्नपूर्णसँग भने, ‘महाभूकम्पछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न र संविधान निर्माण अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक छ भन्ने अनुभूति सबै नेताहरूमा रहेको पाएको छु। राष्ट्रिय सहमतिको सरकार बनाउने वातावरण पनि बन्दै गएको पाएको छु।’
प्रमुख दलका शीर्ष नेताहरूले राष्ट्रिय विपत्ति र संविधान निर्माण सँगै अगाडि बढाउन राष्ट्रिय सरकार आवश्यक रहेको अभिव्यक्ति व्यवस्थापिका संसद्बाट दिएपछि राष्ट्रिय सरकार गठनका लागि अनौपचारिक छलफलले तीव्रता पाउन थालेको हो।
पार्टीहरूले राष्ट्रिय सरकार गठन गर्ने विषयमा औपचारिक निर्णय भने गरिसकेका छैनन्। ‘सैद्धान्तिक रूपमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने संस्थागत निर्णय भएपछि औपचारिक रूपमा छलफल होला’, पौडेलले भने।
राष्ट्रिय सरकारको नेतृत्व गर्न ओली र देउवाले आफूलाई अगाडि सारेका छन्। तर पौडेलले अहिले नै नेतृत्वको ‘छिनाझपटी’ नरहेको बताए। उनले भने, ‘नेतृत्वको विषय गौण हो। त्यसबारे कुनै छिनाझपटी भएको छैन।
पहिले त संस्थागत रूपमा राष्ट्रिय सरकार गठन गर्ने सैद्धान्तिक निर्णय गर्नुपर्छ।’ महाभूकम्पपछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न व्यवस्थापिका संसद्बाट मंगलबार संकल्प प्रस्ताव पारित गराएपछि शीर्ष नेताहरू राष्ट्रिय सरकार गठनबारे औपचारिक छलफलमा जुट्ने तयारीमा छन् भने सभासद्हरूलाई जिल्लामा परिचालन गर्ने योजना प्रमुख दलहरूले बनाएका छन्।
प्रमुख राजनीतिक दलको सहभागितामा राष्ट्रिय सरकार गठनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले आआफ्ना पात्रहरूका बारेमा लबिङ गरिरहेका छन्। भारत र अमेरिकी प्रतिनिधिहरूको लबिङ देखिने गरी हुन थालेको स्रोतले जनाएको छ।
आफ्नो पार्टीले अहिले सबैका तर्क सुनिरहेको एमाओवादीका एक नेताले बताए। उनका अनुसार ओली र देउवा दुवैले राष्ट्रिय सरकारको नेतृत्व गर्न आआफ्नो तर्फबाट प्रयास थालिसकेका छन्।