भूकम्पले नेपालीलार्इ एकताको पाठ सिकायो : माधव नेपाल

बैशाख २६, काठमाण्डौ – एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अरुबेला विभाजित भएका नेपाली जनता र राजनीतिक दललार्इ भूकम्पले एकताको पाठ सिकाएको बताएका छन् ।

व्यवस्थापिका–संसद्को शनिबारको विशेष समयमा बोल्दै नेता नेपालले भूकम्पले जुटाइदिएको एकतालार्इ कायम राख्दै देश पुन:निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

“यस पटकको विनाशकारी भूकम्पले राजनीतिक दल र सर्वसाधारण जनतालाई एकताको पाठ सिकाएको छ’, नेता नेपालले भने, ‘नेपालीबीच एकताको वातावरण बनाइनु अत्यन्तै प्रशंसनीय छ ।’

नेता नेपालले नेपाल भूकम्पको उच्च जोखिमयुक्त मुलुक भए पनि त्यसलाई सामना गर्ने रणनीति र संयन्त्र बनाउन नसक्दाको परिणति ठूलो जनधनको क्षति भोग्नुपरेको बताए ।

राज्यका संयन्त्रले समन्वय गरेर अघि बढ्न कमजोरी गरेकाले राहत वितरणमा एकरुपता नदेखिएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री नेपालले जनताको आवश्यकता र मागलाई सम्बोधन गर्ने हिसाबले राहत र पुनःस्थापना अघि बढाउनुपर्ने औँल्याए ।

भूकम्पबाट ध्वस्त बनेको देशको पुन:निर्माणका लागि दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । ‘संविधान निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत राजमार्ग निर्माणमा जुट्नुपर्ने बेला भएको छ’, नेता नेपालले भने, ‘भूकम्पपछि पुनःनिर्माण गर्दा व्यवस्थित बस्ती बसाल्न सबै दल एकताबद्ध हुन आवश्यक छ ।रासस