पुरातात्विक मठमन्दिरमा ठूलो क्षति

बैशाख १७, काठमाण्डौ – शनिबार आएको विनासकारी भूकम्पका कारण यहाँका पुरातात्विक मठमन्दिरहरुमा ठूलो क्षति पुगेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा रहेका फःसी देगल (शिलु महादेव) र पच्चपन्न झ्याल दरबार अगाडिको कृष्ण मन्दिर पूर्ण रुपमा भत्केको छ । यहाँका वत्सलादेवी मन्दिर, दरबार क्षेत्र पस्ने ढोका, शिव मन्दिर, नारायण मन्दिर, कला सङ्ग्रहालयभित्र रहेको कृष्ण लिला, लाल बैठकको केही भाग बस्ने नहुने गरी चर्केको राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।
यसैगरी, पाँचतल्ले मन्दिरको पाँचौ छानामा क्षति भएको छ । नगरपालिका भएको भवन, पूर्वेश्वर महादेव, तवः सत्तलका केही भाग पनि भत्किएर क्षति भएको छ । नगरपालिकाभित्र रहेका अधिकांश पाटी पौवाहरु समेत भूकम्पका कारण भत्किएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत अर्को मन्दिर चाँगुनारायणमा पनि ठूलो क्षति भएको छ । सङ्ग्रहालयका प्रमुख नकर्मीले त्यस क्षेत्रमा रहेका लक्ष्मीनारायण मन्दिर, अमात्य सत्तल, चौघेरा सत्तल र पुजारी सत्तलमा नराम्रोसँग क्षति भएको बताउनुभयो ।
यस्तै, जिल्लाको पश्चिमपट्टि रहेको मध्यपुर थिमिमा पनि अधिकांश सम्पदाहरु क्षतविक्षत भएको छ । मध्यपुर थिमि–१४ स्थित विष्णुवीर मन्दिर पूर्ण रुपमा ध्वस्त भएको छ भने तछुटोलमा रहेको दुई वटा पाटी र लावाडोलमा रहेको दुई वटा पाटी पूर्ण रुपमा क्षति भएको छ ।
बोडे महालक्ष्मी मन्दिर, मध्यपुर थिमि ११ स्थित चोडे गणेश र महालक्ष्मी मन्दिरमा केही क्षति भएको छ । दक्षिणबाराही मन्दिरको पछाडिको भाग भत्किएको छ ।
ती सम्पदाको पुनःनिर्माण कार्यका लागि केही समय लाग्ने र जिल्लाका अन्य सम्पदाहरुको क्षतिसम्बन्धमा लगत सङ्कलन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।