विपक्षी मोर्चामा प्रचण्डको आलोचना, कार्यविधि र आचारसंहिता बनाउने निष्कर्ष

बैशाख ११, काठमाण्डौ- बिपक्षी ३० दलीय मोर्चामा आवद्ध मधेस केन्द्रित दलहरुले आफूहरुसँग सल्लाहनै नगरी काङ्ग्रेस–एमालेसँग छलफल गरेकोभन्दै संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको मोर्चाको बैठकमा मधेसवादी दलका नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतो लगायत मधेसवादी,जनजाति दलका नेताहरुले गठबन्धनको नौबुँदे सम्झौता पालना नभएको गुनासो गरेका थिए । मोर्चाका घटक दलहरुले गुनासो गरेपछि आजको बैठकबाट आचारसंहिता, कार्यविधी र वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार एमाओवादी महासचिव कृष्णबहादुर महरा संयोजक रहेको कार्यदलले आगामी बैठकमा गर्ने प्रस्तावका आधारमा मोर्चाले निर्णय गर्नेछ ।

यही १४ गते फेरि मोर्चाको बैठक बोलाइएको छ । आजको बैठकमा गठबन्धनका दलहरु चैत २४ को आमहड्ताल फिर्तापछिका कमजोरी सुधार्दै गठबन्धनको एकता कायमै राख्न प्रतिबद्ध रहन सहमत भएको एमाओवादी नेता डा बाबुराम भट्टराईले जानकारी दिनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रचण्डले आज सत्ताधारी दलसँग कुनै सहमति नभएको बताएका कारण मोर्चाका घटकहरुले एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।