काठमाडौंको टुँडिखेलमा आजबाट पाँच दिने योग शिविर सुरु

बैशाख ११, काठमाण्डौ—काठमाडौंको टुँडिखेलमा आजबाट पाँच दिने योग शिविर सुरु भएको छ । भारतका प्रसिद्ध योगगुरु रामदेवको उपस्थितिमा सुरु भएको योग शिविरमा बिहानैबाट राष्ट्रपति, मन्त्रीदेखि हजारौं मानिसको सहभागिता रहेको छ । ५ दिनसम्म चल्ने योग शिविरको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभयो । उहाँले स्वास्थ्यको लागि योग महत्वपूर्ण हुने बताउनुभयो ।
योग शिविर सुरु गर्दै रामदेवले नेपालमा छिटै संविधान आउन सकोस् भन्ने कामना गर्नुभयो । नेपाल र नेपालीको प्रशंसा गर्दै उहाँले योग सिकाउन थाल्नुभयो । उहाँले ज्यान हल्लाउँदै, तन्काउँदै योग सुरु गरेपछि अरुले पनि त्यसको सिको गरे ।
पतञ्जली योगपीठ नेपालको आयोजनामा योग शिविर सञ्चालन भएको हो ।    योग र आयुर्वेदको माध्यमबाट नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी उनीहरूमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले शिविर गरिएको योगपीठले जनाएको छ ।
बिहान ५ बजेदेखि ८ बजेसम्म शिविर चल्नेछ । रामदेवले वैशाख १६ गते बिहान जनकपुरमा त्यहाँका स्थानीय बासिन्दालाई पनि योग सिकाउने लगायतका कार्यक्रम रहेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।