बैशाख १०, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले एशिया–अफ्रिका शिखर सम्मेलन स्थल इण्डोनेशियाको जाकर्ताबाट बिहीबार बिहान स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई फोन गरी स्वाइन फ्लु नियन्त्रणका लागि निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले फोनमार्फत् मन्त्री अधिकारीलाई जाजरकोट लगायत मुलुकका विभिन्न भागमा देखापरेको स्वाइन फ्लू रोकथाममा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्। जाजकोटमा फैलिएको स्वाइन फ्लू नियन्त्रणमा हुन नसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको थाहा पाएपछि प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री कोइरालाले यसअघि स्वास्थ्यमन्त्री खगराज अधिकारी,स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ,स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सेनेन्द्र उप्रेती र इपिडियोमोलोजी महाशाखाका प्रमुख डा.बाबुराम मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रकोप रोक्न युद्धस्तरमा काम गर्न निर्देशन दिएका थिए।यसैगरी प्रकोप नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीहरुको अवस्था बुझ्न मुख्य सचिव लीलामणि पौड्याल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ आज बिहीबारै जाजरकोट जाने भएका छन्। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेको प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो।