वैशाख ९, तनहुँ- नेपाली सेनाले पूर्व सैनिकका लागि लघुवित्त कार्यक्रम अन्तर्गत रु. ४० अर्ब लगानी गर्ने जनाएको छ ।
प्रधान सेनापति गौरव शम्सेर जबराद्वारा उद्घाटन गरिएको तनहुँको खैरेनीटारमा मङ्गलबार आयोजित पश्चिमाञ्चलका भूतपूर्व सैनिक सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा उक्त सम्मेलन गरिएको थियो ।
सो अवसरमा प्रधान सेनापति जबराले पूर्व नेपाली सैनिक र सैनिक परिवारलाई व्यवसायमा उत्पेरित गर्न सैनिक कल्याणकारी कोषले अभियान थालेको बताउनुभयो ।
नेपाली सेनाको जमानीमा नेपाल इन्भेष्टमेन्ट बैङ्कले सहुलियत ब्याजमा तीन हजार भूतपूर्व सैनिकलाई मङ्गलबारसम्ममा ३५ करोड रुपैयाँ लगानी गरेको सो अवसरमा जानकारी दिइयो ।
साथै प्रधान सेनापति जबराले डेढ महिनामा पाँच हजार भूपू सैनिकलाई रु. ६० करोड लगानी गर्ने पनि जानकारी दिनुभयो ।
प्रधान सेनापति जबराका अनुसार पाँच वर्षभित्र ४५ हजार भूपूलाई ४० अर्ब रुपैयाँ लगानी गरिने भएको छ ।
नेपाली सेनाले सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति अन्तर्गत रहने गरी २०७१ साल असोज २१ गते कल्याणकारी बोर्डको स्थापना भएको थियो ।
सम्मेलनका क्रममा नेपाली सेनाको कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैङ्कको संयुक्त सहकार्यमा व्यक्तिगत रूपमा विभिन्न लघु व्यवसाय सञ्चालनका लागि लघुवित्त आयोजनामा सहभागी हुनेमध्ये पश्चिमाञ्चलका पाँच जनालाई प्रधान सेनापति जबरा र नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले चेक हस्तान्तरण गर्नुभएको थियो ।
सोही समारोहमा प्रधान सेनापति जबराले शारीरिक रूपमा अशक्त एक भूपू सैनिक र दुई गैरसैनिकलाई व्हील चियर पनि प्रदान गर्नुभएको थियो ।
सम्मेलनमा बलाध्यक्ष रथी राजेन्द्र क्षेत्री, अवकाशप्राप्त रथी चित्रबहादुर गुरुङ, उपरथी ताराबहादुर थापा लगायतले सैनिक कल्याणकारी बोर्डको परिचय, कार्य र भावि लक्ष्यबारे जानकारी दिनुभएको थियो ।